काठमाडौं- मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाहको सातौं कथासंग्रह ‘भुइँखाट’ शनिबार सार्वजनिक गरिएको छ।
होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा प्रा. डा. अभि सुवेदी, नारायण ढकाल र नयनराज पाण्डेले सार्वजनिक गरे।
पुस्तकमाथि टिप्पणी गर्दै ढकालले शाहका कृतिहरुले थारु समुदायभित्रका कुरालाई लगातार पाठकमाझ ल्याइरहेको बताए। उनले भने, ‘शाहको पहिलो कृति “सटाहा“मा वर्णन गरिएको थारु समुदायको मूल्य, मान्यता र संस्कृतिले म अविभूत भएको थिएँ। त्यसरी अविभूत हुने क्रमले “भुइँखाट“सम्म आइपुग्दा पनि निरन्तरता पाएको छ।’
अर्का टिप्पणीकार पाण्डेले शाहका कथाहरुमा परिवेश र विषयगत विविधता पाइने बताए।
'शाहले मधेस, हिमाल, पहाडदेखि पश्चात्य जगतका कथा र पात्रहरु संग्रहमा ल्याएका छन्’, उनले थपे, ‘लेखकले सयमक्रमलाई पछ्याउँछन्। सयमसँग संवाद गर्नु उनको विशेषता हो। ’
कार्यक्रमका प्रमुख अतिथि सुवेदीले भने, ‘अहिले कथानक संकटमा छ। अहिलेको चुनौती भनेको पोस्ट ट्रुथभन्दा कथा अलग हो भनेर चिनाउनु हो।’
आफ्नो साहित्यिक यात्राबारे बोल्दै लेखक शाहले प्रहरी सेवा र लेखन क्षेत्रमा रहँदा आफू सधैं परिचयको दोसाँधमा रहने गरेको अनुभव सुनाए।
‘मेरी श्रीमतीले सधैं भन्छिन्- तपाईंलाई पुलिसहरुले साहित्यकारका रुपमा चिन्छन्, साहित्यकारहरुले पुलिसको रुपमा।' तर, म आत्मादेखि नै साहित्यकार हुँ। त्यसको जवाफ मेरा कृतिहरु हुन् जस्तो लाग्छ मलाई।’
उनले आफ्ना कथाहरुमा जीवन भोगाइका अनुभव र अनुभूति पोखिएको समेत उल्लेख गरे।
फाइनप्रिन्टले प्रकाशन गरेको 'भुइँखाट'मा १८ वटा कथा समावेश छन्। पुस्तकको मूल्य मोटो गाताको ४५० रुपैयाँ र पातलो गाताको ३०८ रुपैयाँ राखिएको छ।
कथाकार शाहका यसअघि ‘सटाहा’, ‘अफ्रिकन अमिगो’, ‘छापामारको छोरा’, ‘काठमाडौंमा कमरेड’, ‘सिपाहीकी स्वास्नी’ र ‘ज्याक्सन हाइट’ कथासंग्रह प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।