काठमाडौँ- नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६० वर्षे इतिहासलाई समेटेर परिचयात्मक ग्रन्थ प्रकाशन गरेको छ।
‘नेपाल प्रज्ञा–प्रतिष्ठानका गौरवमय साठी वर्ष’ नामक उक्त ग्रन्थ प्रज्ञा–प्रतिष्ठानले आफ्नो हीरक महोत्सवका अवसरमा प्रकाशनमा ल्याएको हो। प्रज्ञा–प्रतिष्ठान, दर्शन विभाग प्रमुख प्रा दिनेशराज पन्तको संयोजकत्वमा उक्त ग्रन्थ तयार भएको प्राज्ञ शशि लुमुम्बुले जानकारी दिए।
ग्रन्थमा विसं २०१४ देखि २०७४ सम्म प्रतिष्ठानले गरेका प्राज्ञिक गतिविधि तथा अनुसन्धनात्मक लगायत कार्यको चर्चा गरिएको छ। प्रतिष्ठानको स्थापना विसं २०१४ मा तत्कालीन राजा महेन्द्रले गरेका थिए। यस वर्ष प्रतिष्ठानले ६० वर्ष पूरा गरेको छ।
प्राज्ञ प्रा जगत् प्रेक्षित, प्रा डा कुमारप्रसाद कोइराला, ज्ञानु अधिकारी र रमेश शुभेच्छुद्वारा लिखित उक्त ग्रन्थलाई चार खण्डमा विभाजन गरिएको छ। ग्रन्थमा प्रज्ञा–प्रतिष्ठानको गठन र स्वरुप, प्रतिष्ठान स्थापनाको पृष्ठभूमि र यसको विकासक्रम, अध्ययन–अनुसन्धान र प्रकाशन, प्रतिष्ठानले गरेका विविध सहयोग र अन्तर्राष्ट्रिय सम्बन्ध तथा प्रज्ञा पुरस्कार, कविता महोत्सव, नाटक महोत्सव, कला प्रदर्शनी आदि गतिविधि समेटिएको छ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त ग्रन्थबाट ‘प्रज्ञाको इतिहास झल्किने’ बताउँदै यसबाट प्रज्ञा–प्रतिष्ठानका समग्र पाटोबारे एकमुष्ट जानकारी पाइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।