काठमाडौं- एक दिवसीय विश्वकप मान्यता दिलाउन सफल नेपाली टोली सोमबार साँझ स्वदेश फर्किंदा विमानस्थल सयौं समर्थकले भरिएको थियो। खेलाडी आउनुभन्दा १ घन्टा अगाडिदेखि नै खेलाडीको समर्थन र क्रिकेट व्यवस्थापनको विरोधमा नारा लगाइरहेका थिए। समर्थकले आफ्ना प्रिय खेलाडी आउनुपूर्व 'क्रिकेट विवाद अन्त्य गर', 'रंगशाला चाहियो', 'अघि बढ खेलाडी, तिम्रो साथ हामी छौं' जस्ता नारा घन्काइरहेका थिए।
नेपाली झन्डा हातहातमा बोकेर विमानस्थालमा रमाइरहेका क्रिकेट समर्थकका अनुहारमा नेपाली खेलाडीले दिलाएको सफलताको उल्लास देखिन्थ्यो।
क्रिकेटमा ऐतिहासिक सफलता पाएर फर्किएका खेलाडीलाई विमानस्थलमै स्वागत गर्न नवनियुक्त खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट लगायत खेल पदाधिकारी पुगेका थिए।
जिम्बावेमा भएको एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा आठौं स्थानमा खेल पूरा गर्दै सन् २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाई नेपाली टोली घर फर्किएको हो। १५ सदस्यीय टोलीमा १४ जना स्वदेश फर्किए भने मध्यक्रमका ब्याट्समेन शरद भेषावकर उतैबाट अमेरिका गएका छन्। त्रिभुवन विमानस्थलमा न्यानो स्वागत पाएको नेपाली टोली त्यहाँबाट नक्सालस्थित होटल क्राउन प्लाजामा गएको छ।
समर्थकहरुसँग खुसी साट्दै कप्तान पारस खड्काका हजुरबुबा प्रेमबहादुर खड्का
कप्तान पारस खड्कालाई अँगालो हालेर स्वागत गर्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।