विराटनगर– चुरेभावर, भित्री मधेस, शिवालिक तथा दून उपत्यकालाई यातायात सञ्जालमा जोडने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको करिब १५ प्रतिशत काम सकिएको छ। सरकारको करिब २२ अर्बको लगानीमा भइरहेको सडकको निर्माण कार्य भने सुस्त छ।
२०७३ मंसिरमा ठेक्का लागेको सडकको निर्माण कार्य ३ वर्षभित्र सक्नुपर्ने सम्झौता छ। हेटौंडादेखि धरानसम्म ३ सय १८ किलोमिटर लम्बाइ र ११ मिटर चौडाइको यो सडकको निर्माण कार्य १५ प्रतिशत सकिएको सडक विभागका इञ्जिनियर कविश तण्डुकारले जानकारी दिए। साथै, ५ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको र ११ वटा पुलको पिलर हाल्ने काम भइरहेको उनले बताए।
सडक विस्तारका क्रममा पूर्वी खण्डमा ८ हजार र पश्चिमी खण्डमा ४ हजार ५ सय रूख काट्नुपर्नेमा ८५ प्रतिशत सम्पन्न भइसकेको इञ्जिनियर तण्डुकारले बताए। रुख काट्ने, बिजुलीका पोल सार्ने, मुआब्जा वितरण गर्ने लगायतका कामले निर्माणमा केही ढिलाइ भएको उनी बताउँछन्।
उदयपुरको बसाहास्थित वीरेन्द्रचौकदेखि सिन्धुलीको भिमानसम्म १ सय ३५ किलोमिटरलाई पूर्वी खण्ड र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किलोमिटरलाई पश्चिम खण्डमा विभाजन गरी काम भइरहेको छ। हेटौंडादेखि सिन्धुलीसम्मको सडक, पुल र कल्भर्ट निर्माण गर्न हेटौंडामा र पूर्वी खण्डको रेखदेखका लागि उदयपुरको गाईघाटमा आयोजना कार्यालय स्थापना गरिएको छ।
पूर्वी खण्ड निर्माणको ठेक्का जेटआइइसी लामा जोइन भेञ्चरले पाएको छ भने पश्चिमी खण्डको भिमानदेखि हेटौंडासम्मको १ सय १५ किलोमिटर सडकको निर्माण ठेक्का कालिका, स्वच्छन्द राङकेन जेभीले लिएको छ। धरानदेखि हेटौंडासम्मको योजना भए पनि सप्तरीको रुपनगरदेखि धरानसम्म वैकल्पपिक मार्ग अन्तर्गत (नडाहा–रुपनगर सडक) कालिका कन्स्ट्रक्सनले निर्माण कार्य गरिरहेको छ। उदयपुरको बसाहास्थित वीरेन्द्रचौकमा पुगेर दुवै सडक जोडिनेछन्।
७६ वटा पुल निर्माणको ठेक्का जेटआइइसी एन्ड लुम्बिनी जेसीले लिएको कालिका कन्स्ट्रक्सनका कर्मचारी हरि पराजुलीले जानकारी दिए। सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण गरिनेछ।
सडकको ट्रयाक खोल्ने काम गत वर्ष नैै सम्पन्न भएको हो। सडक फराकिलो पार्ने, कज–वे बनाउने, रिटेनिङ वाल निर्माण गर्ने कार्य भइरहेको छ। लेन विस्तारको काम सकिएपछि कालोपत्रे सुरु गर्ने ठेकेदार कम्पनीले जनाएको छ।
सुनसरीमा १८ दशमलब ८ किलोमिटर, उदयपुरमा १ सय ८ दशमलब ५ किलोमिटर, सिन्धुलीमा १ सय ३५ किलोमिटर र मकवानपुरमा ४९ दशमलब ३५ किलोमिटर फैलिएको यो सडकको करिब १८ किलोमिटर कालोपत्रे, करिब १ सय १० किलोमिटर ग्राभेल र बाँकी भाग धुलाम्मे अवस्थामा छ।
सडकमा बिपी राजमार्गले १८ किलोमिटर र बसाहदेखि धरानसम्म नडाहा–रुपनगर सडक आयोजनाले ४८ किलोमिटर भेटेको छ। बिपी राजमार्ग अन्तर्गतको १८ किलोमिटर र नडाहा–रुपनगर सडकको ४८ किलोमिटर कालोपत्रे तथा विस्तार गर्ने जिम्मा सडक विभागले लिएको छ।
सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोड्ने यो सडकलाई पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा हेरिएको छ, जसले चुरे तथा पहाडी क्षेत्रका बासिन्दालाई पूर्व–पश्चिम यात्राका लागि सहज हुनेछ।
यता, निर्माणको काम सुरु भएपछि इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र भोजपुरका सर्वसाधारणले ‘चुरे मार्ग सरोकार समिति’ गठन गरेर धरान–हेटौंडा सडकलाई चुरेक्षेत्र हुँदै पूर्व पश्चिमसम्म जोड्न बजेट विनियोजनका लागि सरकारसँग आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।