मुम्बई– बलिउडमा चर्चित भइसकेका पुराना गीतलाई रिमेक गरिने चलन पछिल्लो समय बढेर गएको छ। तर, नयाँ स्वरुपमा बनाइएका त्यस्ता गीतले पहिलेको गीतको मर्मलाई जीवित तुल्याएका छन् कि छैनन् भन्ने प्रश्न बारम्बार उठ्ने गर्छ। कतिपय गीतले आफूलाई सही साबित गर्न सकेका छन् भने कतिपयले चर्को आलोचना खेपेका छन्।
सन् १९८८ मा रिलिज भएर हालसम्म धेरै गीत र नृत्य दुवैका लागि चर्चा हुने गरेको गीत हो ‘एक दो तिन....’। चलचित्र ‘तेजाब’मा समेटिएको यो गीतमा नायिका माधुरी दिक्षितको नृत्य र कम्मर मर्काइलाई धेरैले प्रशंसा गरेका थिए। अलिन कपुर, माधुरी दिक्षित, अनुपम खेर, चंकी पाण्डे, जोनी लिवर लगायतको अभिनय रहेको तेजाबलाई धेरै दर्शकले रुचाएका थिए। यही गीतबाट माधुरी दिक्षितलाई नायिकाका रुपमा चिन्नेहरु पनि नभएका होइनन्।
तर, यस पटक सोही गीतलाई रिमेक गर्दा माधुरीको स्थान लिएकी ज्याक्लिन फर्नान्डेजको नृत्यलाई भने धेरै दर्शकले आलोचनात्मक टिप्पणी गरेका छन्। चलचित्र ‘बागी–२’ मा समेटिएको सो गीत आइतबार मात्र युट्युवमा सार्वजनिक भएको थियो। आलोचनाका बाबजुद पनि सो गीतलाई २ करोडभन्दा बढीले हेरिसकेका छन्। युट्युवमा २२ हजारभन्दा बढीले कमेन्ट गरेको सो भिडियोमा ५४ हजारले डिस्लाइक गरेका छन्।
गीत हेरेपछि कतिपय दर्शकले दुई नायिकाको बीचमा तुलना समेत गरेका छन्। आफ्नो नृत्यका क्रममा देखाउने अन्दाज र नृत्यका विभिन्न तरिकाका लागि छुट्टै छबी बनाएकी माधुरीका अघि केही वर्षअघि मात्रै श्रीलंकाबाट बलिउड फिल्म नगरीमा प्रवेश गरेकी न्युकमर ज्याकलिनको जोर नचल्ने भन्दै प्रतिक्रियाहरु आएका छन्।
युट्युवमा नै कमेन्ट गर्दै श्रेयस चौधरी लेख्छन्– विशेष गरी यो गीतमा माधुरी दिक्षितको नृत्यलाई ज्याकलिन फर्नान्डिजले जित्न सक्दिनन्।' त्यस्तै, रोहन सिंहले डिङ डाङ डिङ गर्दै एउटा राम्रो गीतलाई मारिएको टिप्पणी गरेका छन्।
८० को दशकदेखि हालसम्म पनि माधुरीको नृत्यलाई बलिउडकै उच्च कोटीको रुपमा हेर्ने गरिन्छ। हालसम्म पनि उत्तिकै फुर्तिली माधुरी विभिन्न अवार्ड सेरेमोनीमा आफ्नो प्रस्तुति दिदाँ उस्तै स्फुर्तिका साथ नृत्य गरिरहेकी देखिन्छिन्।
आफ्नो बाल्यकाल सम्झिँदै एक ट्विटर प्रयोगकर्ता श्रेजु सुधाकरणले आफ्नो बाल्यकालका विरुद्धमा किन लागेको भन्दै सिंगो बलिउडमाथि नै प्रश्न तेर्साएका छन्। उनले रिमिक्सको बहानामा किन गीतलाई दानवीकरण गरियो भनेर अर्को प्रश्न गरेका छन्।
'एक पुरानो गीतलाई यस्तो बनाउन किन दिइयो होला भन्ने मैले कारण खोखिरहेको छु' भन्दै अर्की ट्विटर प्रयोगकर्ता कु्रतिकाले ज्याकलिनलाई समेत मेन्सन गरेर ट्विट गरेकी छन्। माधुरी दिक्षितले बन्दुक ताकेको फोटो पोस्ट गर्दै प्रमोद बगाडे ट्विट गर्छन्, ‘एक दो तिन हेरिसकेपछि माधुरी दिक्षित।’
जावेद अख्तरले लेखेको सो गीतमा एक, दो, तीन जस्ता सुरुवाती केही हिन्दी संख्याहरु उठान गरिएको छ। जसले महिलालाई दोस्रो बरियतामा राखिन्छ भन्ने जनाउ दिएको छ। गीतमा प्रेमीले आफ्ना प्रेमिकालाई कुर्नुपरेको अवस्थाको चित्रण समेत पाइन्छ। यो गीतलाई तत्कालीन अवस्थामा बालबालिकाहरुलाई अंक चिनाउने सजिलो उपायका रुपमा समेत प्रयोग गरिन्थ्यो। त्यसकारण पनि उक्त गीतलाई धेरैले आफ्नो बाल्याकालसँग जोडेर हेर्ने गरेका छन्।
दर्शकका अलावा तेजावका निर्देशकले समेत उक्त गीतको नयाँ बनाइएको म्युजिक भिडियोमा आलोचना गर्दै आफू सन्तुष्ट हुन नसकेको बताएको बिबिसीले लेखेको छ। उनले बागी–२ का निर्माण युनिटलाई पनि आफ्नो टिप्पणी राख्ने बताएका छन्।
माधुरीले नृत्यु गरेको तेजाबको पुरानो गीत भने भारत लगायत यस आसपासका अन्य छिमेकी देशमा समेत चर्चित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।