विराटनगर– प्रदेशसभा १ को आजको बैठकमा प्रदेशसभा सञ्चालन नियमावली मस्यौदाबारे छलफल हुने भएको भएको छ। विषयगत समितिको संख्यामा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बुधबार अबेर गरी सुरु भएको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले मस्यौदा पेस गर्न अनुमति दिएका थिए। मस्यौदा समितिका संयोजक लीलाबल्लभ अधिकारीले मस्यौदालाई टेबल गरेपछि आज दिउँसो १२ बजे बस्ने बैठकले मस्यौदालाई अन्तिम रुप दिनेछ।
प्रदेशसभाको पाँचौ बैठकले अधिकारीको संयोजकत्वमा नियमावली मस्यौदा गर्न ११ सदस्यीय समिति बनाएको थियो। समितिले कानुन व्यवासायी, राजनीतिक दल तथा विज्ञहरुसँग छलफल गरी मस्यौदालाई अन्तिम रुप दिएको छ। मस्यौदामा प्रदेशसभामा संसदीय समिति ७ वा ४ वटा राख्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेको छैन। जसका कारण बुधवारको बैठक समेत २ घन्टा ढिलो गरी सुरु भएको थियो। सहमति नजुटेपछि प्रदेशसभाले नै टुंग्याउने गरी मस्यौदा टेबुल गरिएको मस्यौदा समितिका संयोजक अधिकारीले जानकारी दिए।
उनले भने, ‘समितिमा धेरै छलफल गर्यौं तर सहमति जुट्न नसकेपछि प्रदेशसभामा नै विवाद टुंग्याउने गरी टेवबल गरिएको हो।’ अध्ययनका लागि प्रदेशसभा सदस्यहरुलाई यसअघि नै मस्यौदा उपलब्ध गराइएको थियो।
नेपालको संविधान २०७२ को धारा १९४ ले दिएको अधिकार प्रयोग गरी नियमावली मस्यौदा तयार गरिएको हो। प्रदेशसभाको कार्य सञ्चालन, बैठकको सुव्यवस्था र विषयगत समितिहरुको गठन, काम, कारबाही लगायतका विषयलाई प्रभावकारी बनाउन तयार गरिएको नियमवाली मस्यौदाको २६ वटा परिच्छेदमा समिति गठन, निर्वाचन मनोनयन, सरकारका निती तथा कार्यक्रम, बैठक मर्यादित बनाउने विषय, संकल्प अध्यादेश पेस गर्ने, विशेष अधिकार समितीलगायत विविध विषयहरु समेटिएका छन्।
सहमति जुट्न नसकेको विषयगत समिति गठनको विषय परिच्छेद १९ मा व्यवस्था छ। मस्यौदाले प्रस्ताव गरेका ७ वटा समितिमा न्याय प्रशासन तथा विधान समिति, सुशासन तथा योजना रणनीति समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा लेखा समिति, उद्योग, पर्यटन तथा कृषि समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।