काठमाडाैं- उच्च अदालतका ८० जना न्यायाधीश नियुक्ति खारेजीको माग गर्दै दायर भएको निवेदनको फैसला सर्वोच्च अदालत आफैले सारेको छ।
दुवै तर्फको बहस अन्त्य गर्दै बिहीबार फैसला सुनाउने भन्दै दुई महिनाअघि तोकिएको मिति सरेको हो। न्यायाधीश ओमप्रकाश मिश्र न्याय परिषद्को सदस्यमा बढुवा भएपछि उक्त मुद्दाको फैसला सरेको हो।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको रुचि र चासो जोडिएको उक्त मुद्दा न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा पेशी ताेकेर सुनुवाइ भएकाे थियो।२०७३ चैत १६ गते दर्ता भएको मुद्दाको २०७४ माघ ११ गते फैसला सुनाउने मिति तोकिएको थियो। सोही इजलासले निर्णय सुनाउनुपर्नेमा न्यायाधीश मिश्रले आफू परिषद्को सदस्य बनेको भन्दै मुद्दा नहेर्न भनेपछि उक्त फैसला सरेको हो।
बिहीबार फैसला सरेपछि उक्त मुद्दा अन्य इजलाशमा पेशी परेमा अब पुन: सुनुवाइ हुनेछ। मुद्दामा न्यायपरिषद्लाई समेत विपक्षी बनाइएको थियो। अब मुद्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र वरिष्ठतम् न्यायाधीश मिश्र बाहेकको इजलासमा पेशी ताेकिनुपर्नेछ। त्यसपछि मात्र पुन: सुनुवाइ हुनेछ। न्यायाधीशहरु फेरिएका कारण फेरि सुरुदेखि नै मुद्दाको सुनुवाइ गर्नुपर्ने भएकाे सर्वोच्च प्रशासनले जनाएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मध्यरातमा परिषद्को बैठक राख्दै विभिन्न राजनीतिक दलहरुको भागबण्डामा उच्च अदालतमा न्यायाधीश नियुक्त गरेकी थिइन्। २०७३ पुस २९ गते कार्कीले परिषद्का वरिष्ठ सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलालाई सहभागी नगराउँदै उनीहरुको सिफारिस गरेकी थिइन्। उक्त सिफारिसमा माओवादी केन्द्रका नेता तथा हाल ऊर्जामन्त्री रहेका वर्षमान पुन र नेपाली कांग्रेसका नेता रमेश लेखकसमेत संलग्न भएका थिए।
जिल्ला न्यायाधीशबाट ३७ जना, नेपाल बार एसोसिएसनबाट २७ तथा सहसचिव र विशिष्ट श्रेणी १६ जना (कानुन, न्याय र सरकारी वकिल समूह) नियुक्त भएका थिए। उक्त नियुक्ति महान्यायाधीवक्ता कार्यालयका नायब महान्यायाधीवक्ता दुर्गाबन्दी पोखरेलसहित ४ जना, बढुवाको पहिलो नम्बरमा रहेका जिल्ला न्यायाधीश प्रकाशकुमार काफ्ले, अधिवक्ताहरु तोयानाथ ढुंगाना,डिलहरि शर्मा र सुरेन्द्रप्रसाद यादवले २०७३ चैत र २०७४ बैसाखमा रिट हालेका थिए। उक्त रिटमा अन्तिम सुनुवाइ समाप्त हुँदै फैसलाको मिति तोकिएको थियो। रिट निवेदन मध्येका जिल्ला न्यायाधीश काफ्ले र नायव महान्यायाधीवक्ता पोखरेलले अवकाश पाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।