काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल र मलेसियाबीच आगामी चैत १८ गते (अप्रिल १) मा मैत्रीपूर्ण खेल हुने तय भएको हो। खेल मलेसियामा हुनेछ।
त्यसअघि नेपालले चैत १३ गते यमन विरुद्ध एफसी एसियन कप २०१९ छनोट अन्तर्गत अन्तिम खेल खेल्नेछ। समूह 'एफ' मा रहेको नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको छ। त्यसैले यमन विरुद्धको खेल औपचारिकतामै सीमित हुनेछ। यमन विरुद्धको अन्तिम खेल कतारको दोहास्थित कतार स्पोर्ट्स रंगशालामा हुनेछ।
खेलका लागि नेपाली टिम आगामी आइतबार कतार जाँदैछ। यमनसँग मंगलबार प्रतिस्पर्धा गरेपछि नेपाली टिम उतैबाट बुधबार मलेसिया जाने छ।
यमन विरुद्धको खेलमा टिममा नरहेका भरत खवास मलेसिया विरुद्धको खेलका लागि भने टिममा हुनेछन्। .
नेपाली टिम
गोलकिपर– किरण चेमजोङ, विशेक कुथु, एलन न्यौपाने
डिफेन्डर– विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर– विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामर, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन विष्ट, सुमन लामा
फरवार्ड– विमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की (भरत खवास, मलेसिया विरुद्ध मात्र खेल्ने)
प्रमुख प्रशिक्षक – ग्योतोकु कोजी
प्रशिक्षक – राजुकाजी शाक्य
गोलकिपर प्रशिक्षक – उज्ज्वल मानन्धर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।