काठमाडाैं- घुस रकमसहित पक्राउ परेको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई विशेष अदालतले सफाइ दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पोखरेललाई पक्राउ गरेको थियो। नेपालगन्ज नाका हुँदै इलेक्ट्रिक स्कुटर ल्याउन लागेको एक कम्पनीसँग सिफारिस पत्र माग गरेकोमा घुस लिएको भन्दै निर्देशक पोखरेलमाथि २०७२ फागुन ३ गते मुद्दा दायर भएको थियो।
पोखरेलले १ लाख ८० हजार रुपैयाँ घुस लिएको आरोप अख्तियारले लगाएको थियो। तर विशेषले घुस लिएको प्रमाण अख्तियारले पेश गर्न नसकेको भन्दै पोखरेललाई सफाइ दिने फैसला सुनाएको हो।विशेष अदालतका न्यायाधीशद्वय बाबुराम रेग्मी र चण्डिराज ढकालको इजलाशले पोखरेललाई दुई वर्षपछि सफाइ दिएको हो।
एभोन साइकल्स लिमिटेडले नेपालगन्ज नाकाबाट ल्याउन लागेका ३६ ओटा इलेक्ट्रिक स्कुटरको लागि विभागबाट स्वीकृति लिन सिफारिसपत्र माग गर्दा निर्देशक पोखरेलले प्रतिस्कुटर ५ हजार रुपैयाँ घुस रकम मागेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। उनलाई अख्तियार टोलीले काठमाडौंको नयाँबानेश्वरस्थित विभागको कार्यालयबाट पक्राउ गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।