काठमाडौं- डा गोविन्द केसीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको निर्देशनमा आफू विरुद्ध अवहेलना मुद्दा दायर गर्न लगाएको र उनले आफ्नै इजलासबाट आदेश जारी गरेकाले उक्त आदेश पालना गर्न योग्य नभएको बताएका छन्।
गोविन्द बोहोराले दायर गरेको अदालतको अवहेलना मुद्दामा बिहीबार जवाफ पेश गर्दै डा केसीले यस्तो उल्लेख गरेका हुन्।
डा केसीले पराजुलीले आफू जोडिएको विवादमा आफैं सुनुवाइ गर्दै जारी गरेको आदेश र उनको निर्देशनमा दर्ता भएको मुद्दा खारेज हुनुपर्ने माग गरेका छन्। आफू संलग्न भएको विवाद सम्बन्धी मुद्दाको सुनुवाइ नगर्ने न्यायिक परम्परा भए पनि पराजुलीले केसीको मुद्दामा आदेश जारी गरेका थिए।
तत्कालीन प्रधानन्यायाधीश पराजुलीले आफू जोडिएको मुद्दामा आफ्नै इजलासबाट फागुन २२ गते केसीलाई उपस्थित हुन आदेश जारी गरेका थिए। उक्त मुद्दा नागरिकका तर्फबाट गोविन्द बोहोराले फागुन १६ मा दर्ता गराएका थिए।
केसीको लिखित जवाफमा आफ्नो लडाइँ न्यायलय विरुद्ध नभई भ्रष्ट न्यायिक नेतृत्वमा रहेका पराजुली विरुद्ध मात्र भएकाले अदालतको अवहेलना नगरेको जिकिर गरिएको छ। पराजुलीको विभिन्न मितिमा कीर्ते नागरिकता जारी भएको कुरा पुष्टि भएकाले आफू विरुद्ध दर्ता भएको अवहेलना मुद्दा खारेज हुनुपर्ने केसीले उल्लेख गरेका छन्। पराजुलीको नागरिकताका साथै शैक्षिक प्रमाणपत्र समेत नक्कल भएकाले त्यस विरुद्ध आफूले आवाज उठाएको केसीको लिखित जवाफमा भनिएको छ।
केसीले लिखित जवाफमा आवश्यक पूर्वाधार नै नपुगेको काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी सर्वोच्च अदालतबाट अन्तरिम आदेश पराजुलीको इसारामा भएको आरोप समेत लगाएका छन्। स्वास्थ्य मन्त्रालय र सरकारको अनुगमनमा समेत मापदण्ड नपुगेको अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिनू भनी न्यायाधीशबाट आदेश जारी भएकाले त्यसको एक सार्वभौम नागरिकले विरोध गर्न पाउने संवैधानिक अधिकार अन्तर्गत मात्र आलोचना गरेको केसीको लिखित जवाफमा उल्लेख छ।
झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफूलाई ज्यान मार्ने धम्की दिएको र उक्त भिडियो तत्कालीन प्रधानन्यायाधीश पराजुलीले आफ्नो सामाजिक सञ्चालमा सेयर गरेकाले उनको नियत प्रस्ट पारेको लिखित जवाफमा उल्लेख छ। पराजुलीले नै उक्त मुद्दाको सुनुवाइ गर्दै अदालत उपस्थित हुन आदेश जारी गरेका थिए।
प्रधानन्यायाधीश र न्यायालय विरुद्ध अवहेलना ठहर हुनेगरी अभिव्यक्ति दिएको आरोपमा डा केसी विरुद्ध यो चौथो अवहेलना मुद्दा हो। यसअघि तीन वटा अवहेलना मुद्दामा केसीले जवाफ पेश गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।