धुलिखेल- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले द्रुतगतिमा विकास निर्माणको काम गर्न नसके दिगो शान्ति र प्रजातन्त्र बलियो नहुने बताएका छन्।
धुलिखेलमा बिहीबारदेखि सुरु भएको राप्रपाको दुईदिने उच्चस्तरीय अनुशिक्षण कार्यक्रममा अध्यक्ष थापाले भने– 'दसवर्षे सशस्त्र जनयुद्ध र राजनीतिक संक्रमणपछि हालै प्रदेश र प्रतिनिधिसभा निर्वाचन भई जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएका कारण विकासप्रति जनताको आशा र भरोसा तीव्र रहेको पुष्टि हुन्छ।'
उनले नेपालको सम्मान र गौरव रक्षाका लागि वर्तमान सरकारले थुप्रै काम गर्नुपर्ने बताए।
अध्यक्ष थापाले सशस्त्र द्वन्द्व र राजनीतिक संक्रमणपछि अहिले शान्ति र स्थायित्व कायम भई मुलुक आर्थिक समृद्धितर्फ केन्द्रित हुने आशा आम नागरिकको रहेको भन्दै अब पनि शान्ति, स्थायित्व र आर्थिक समृद्धि नभए त्यो मुलुककै लागि दुर्भाग्य हुने बताए।
अर्को प्रसंगमा थापाले नेपालको धार्मिक र सांस्कृतिक पहिचान संकटमा परेको टिप्पणी गरे।
'धर्म परिवर्तनले नेपालमा सदियौंदेखि कायम रहँदै आएको सद्भाव खल्बलिन सक्ने र मुलुक धार्मिक द्वन्द्वमा पर्नसक्ने खतरा छ', उनले भने।
अध्यक्ष थापाले पार्टी संगठनलाई सशक्त र बलियो बनाउन सके आगामी पाँच वर्षपछि पार्टीलाई अग्रणी राजनीतिक शक्तिका रुपमा स्थापित गराउन सने बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।