प्रकाश सिलवाल/रासस
निजगढ (बारा)- रक्षामन्त्री ईश्वर पोखरेलले बहुप्रतिक्षीत राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई-मधेस द्रुतमार्ग’ को स्थलगत अवलोकन गरी समयमै काम पूरा गर्न निर्देशन दिएका छन्। चार वर्षभित्र सक्ने लक्ष्य लिइएको सो आयोजना मुलुकको समृद्धिका लागि अत्यावश्यक भएकाले आवश्यक पर्ने सबै स्रोत सामग्री जुटाउन तथा आइपर्ने समस्या फुकाउन नेपाल सरकार तयार रहेको उनले स्पष्ट पारे।
मन्त्री पोखरेलले आयोजना क्षेत्रसँग जोडिएका काठमाडौँ, ललितपुर, मकवानपुर र बाराका जनप्रतिनिधि तथा स्थानीयबासीको सहयोग लिएर तोकिएको समयमा काम सम्पन्न गराउन नेपाल सरकारका अन्य सम्बन्धित मन्त्रालय र निकायसँग तत्काल समन्वय बढाउनसमेत निर्देशन दिए।
नेपाल सरकारले २०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयबाट सो आयोजना निर्माणको जिम्मा सेनालाई दिएको थियो भने २०७४ जेठ १४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा त्यसको शिलान्यास गरेका थिए।
ललितपुरको खोकनाबाट बाराको निजगढसम्म ७६ दशमलव २ किमी रहेको दक्षिण एसियालीस्तरको हुने सो मार्गको प्रगति बुझ्न मन्त्री पोखरेलसहित रक्षा मन्त्रालयका सचिव विनोद केसी, वन तथा वातावरण मन्त्रालयका सचिव युवकध्वज जिसी, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा र आयोजना प्रमुखसहितको टोली बिहीबार त्यस क्षेत्रमा पुगेको थियो।
टोलीले निजगढ, बुदुने, लेनडाँडा, सिस्नेरी र मख्खुबेँसीस्थित सेनाको बेसक्याम्प र आसपासका क्षेत्रमा हवाई र पैदलमार्गबाट अवलोकन गरेको थियो । सो मार्गमा सेनाले २०६९ मा नमूना ट्र्याक खोलेको थियो।
चालू आवमा रु १० अर्ब बजेट रहेको सो आयोजनालाई समयमा पूरा गर्ने आफूहरुको संकल्प रहेको बलाधिकृत रथी थापाले बताएका छन्। हालसम्म ८ स्थानमा स्थायी बेसक्याम्पस निर्माण, रुख छपान र कटान, सडक निर्माण, सर्भिस ट्र्याक निर्माण, स्थानीयबासीलाई क्षतिपूर्ति र राहत वितरण तथा अन्य सामाजिक कार्य शुरु गरिसकिएको छ।
आयोजनाका लागि विभिन्न चट्टान फोर्ने विष्फोटक पदार्थको आपूर्ति, ठूला पुलको सर्वेक्षण, कतिपय क्षेत्रमा सञ्चार र विद्युतीकरणको सञ्जाल विस्तारका लागि सेनाले सरकारका अन्य निकायसँग समन्वय गरिरहेको छ।
द्रुतमार्गको प्रारम्भमा पर्ने ललितपुरको खोकना, बुङमति, सैँबू, भैँसेपाटी क्षेत्रमा भने मुअब्जाको विवाद सल्टाउन बाँकी रहेको सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।