काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ। पार्टी मुख्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा चुनावी हारको समीक्षा र पार्टीको आगामी रणनीतिबारे छलफल हुनेछ।
कांग्रेसलाई सुधार गर्दै लैजाने हो भने पार्टीभित्र खुला ढंगले बहस गर्न सक्नुपर्ने नेता गगन थापाले बताए। 'आग्रह र पूर्वाग्रहबाट मुक्त भएर छलफल गर्नु जरुरी छ', उनले भने, 'तत्कालीन र दीर्घकालीन प्रश्नहरुका साथ छलफल गर्न सक्नुपर्छ। त्यसो भयो भने मात्रै हामी जीवन्त कांग्रेस बनाउन सक्छौं।'
निर्वाचनमा हार हुनुको कारण नेतृत्वलाई देखाएर देउवाप्रति दोषारोपण भइरहेको छ। चुनावपछि कमजोर भएका भनिएका देउवाले पार्टीलाई आफ्नो कब्जाबाट बाहिर जान दिएका छैनन्। संसद्मा देउवा पक्ष बलियो देखिएको छ। अब, पदाधिकारी चयनमा पनि आफू अनुकूल गरेर देउवा कांग्रेसिभत्र थप शक्तिशाली नेताका रुपमा उभिन खोज्दैछन्। महाधिवेशन सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि पदाधिकारीको चयन हुन सकेको छैन।
हिजो मात्रै सकिएको कांग्रेस जिल्ला कोषाध्यक्षहरुको दोस्रो जिल्ला सम्मेलनले पनि पार्टी हारको कारण खोतल्नुपर्ने निष्कर्ष निकालेको थियो। नुवाकोटमा सम्पन्न भेलाले पार्टीका नेतृत्वदेखि सबै तह पार्टीको विधानअनुसार चल्नुपर्ने निचोड निकालेको छ। निर्वाचनमा पार्टीको पराजयलाई नेतृत्वले गम्भीर रुपमा लिनुपर्ने र पार्टीलाई अझै सशक्त बनाउनुपर्ने निर्णय गर्दै केन्द्रदेखि स्थानीय तहसम्म भ्रातृसंगठनलाई पूर्णता दिन पनि सम्मेलनले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।