सल्यान- करिब ८ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गरेका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी भएका छन्।
विद्यालयमा पढाउँदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका उनी दार्मा गाउँपालिकामा कार्यालय सहयोगी बनेका हुन्। उनी दार्मा–४ मा रहेको बाल कल्याण प्राथमिक विद्यालयमा २०६६ सालदेखि निजी स्रोतमा पढाउने गर्थे। दुई वर्षदेखि तलब नपाएपछि गाउँपालिकामा कार्यालय सहयोगीमा काम गर्न थालेको उनी बताउँछन्।
२०६६ मा रु एक हजार २ सय तलब लिएर पढाउन थालेका उनी २०६९ सालमा प्रधानाध्यापक भए। 'थोरै भए पनि तलब आउँछ भनेर काम गरेँ तर दुई वर्षदेखि त्यही तलब नपाएपछि बाध्य भएर विद्यालय छोडेँ,' उनले बाध्यता सुनाए।
प्रधानाध्यापक नै गाउँपालिकामा गएपछि विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ। ३१ विद्यार्थी रहेको विद्यालयमा अब एक जना बालविकास सहयोगी कार्यकर्ताको भरमा मात्रै सञ्चालन भइरहेको छ। स्थायी दरबन्दी नरहको उक्त विद्यालयमा स्थानीयले दिने चन्दाको भरमा विद्यालय चल्दै आएको बालविकास सहयोगी कार्यकर्ता निरा बुढाथोकीले जानकारी दिइन्।
'पहिले दुई जना शिक्षक थियौँ। प्रधानाध्यापक नै विद्यालय छोडेर जानुभयो, अब मलाई समस्या भएको छ,' उनले भनिन्, 'जिल्ला शिक्षा कार्यालयले पहिले पिसिएफको पैसा पनि दिन्थ्यो। यो वर्ष दिएको छैन। निकै समस्या छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।