काठमाडौं– आर्थिक वर्ष २०७४/०७५ मा रोजगारीका लागि श्रमस्वीकृति लिएर विभिन्न देश पुगेका ८ सय २१ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आज सार्वजानिक गरेको वार्षिक प्रतिवेदनमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका ८ सय २१ जनाको शव नेपाल ल्याइएको जनाएको छ।
प्रतिवेदनअनुसार गएको आर्थिक वर्षभन्दा यसपटक कामदार मृत्युमा कमी आएको छ। यसअघि आर्थिक वर्ष २०७३/०७४ मा ८ सय ५० जना र २०७२/०७३ मा ७ सय ६३ जनाले वैदेशिक रोजगारीमा क्रमममा ज्यान गुमाएका थिए। जसअनुसार यसवर्ष २९ जना कम कामदारको मृत्यु भएको हो। तर पछिल्लो ११ वर्षमा रोजगारीको खोजीमा गएका ९ हजारभन्दा बढी नेपाली युवाले विदेशी भूमिमा ज्यान गुमाइसकेका छन्।
मलेसियामा सबैभन्दा बढी कामदारको मृत्यु
मृत्यु रोजगारीका लागि विदेश पुगेकामध्ये मलेसियामा धेरै नेपाली कामदारको मृत्यु भएको बोर्डले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ। मलेसियामा २ सय ८५, साउदी अरबमा २ सय ३, कतारमा १ सय २२, युएईमा ८५, कुवेतमा २३ जना नेपाली कामदारले ज्यान गुमाएको बोर्डले जनाएको छ। जिल्लागत रुपमा हेर्ने हाे भने माेरङका सबैभन्दा बढी ३९ जनाकाे मृत्यु भएकाे छ।
रोजगारीका क्रममा बिरामी र अंगभंग भएका ३ सय ६१ जना कामदारलाई उद्धार गरी नेपाल फर्काइएको छ। यता विभिन्न देशबाट रोजगारीको खोजीमा नेपाल आएका ३८ जना कामदारले ज्यान गुमाएका छन्।
यति धेरै कामदारले विदेशमा ज्यान गुमाएपनि सरकारले मृत्युको कारण र मृत्युदर रोक्न उचित उपायको खोजी गरेको पाइँदैन।
तर, विदेशमा नेपाली कामदार मृत्य हुने क्रम रोक्न सरकारले विशेष योजना र त्यसको उपाय खोजी रहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी सूचना अधिकारी पवित्रा घिमिरेले दावी गरिन्। ‘रोजगारीमा जाने कामदारको के–कस्ता कारणले मृत्यु हुन्छ भने विषयमा सरकारले अनुसन्धान गरिरहेको छ। राज्यले रोजगारीका क्रममा हुने मृत्युदर रोक्न नेपालमै केही काम गर्नुपर्ने भनेर पनि अध्ययन गरिरहेको छ।’, घिमिरेले भनिन्।
वैदेशिक रोजगारीका क्रममा मृतक परिवार, अंगभंग र बिरामीलाई ४ अर्ब ३६ करोड ३२ लाख ८८ हजार क्षतिपूर्ति उपलब्ध गराएको बोर्डले जानकारी दिएको छ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका परिवारले जनही बोर्डबाट ७ लाख, बिमामार्फत १० लाख र सामाजिक कल्याण कोषमार्फत ५ लाख गरी कुल २१ लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन्।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाे वार्षिक प्रतिवेदन:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।