काठमाडौं– प्रतिव्यक्ति आयका आधारमा प्रदेशगत अन्तर उच्च देखिएको छ। यसले प्रदेशगत अर्थतन्त्रको आकारमा भिन्नता देखाएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
औषत नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर रहेकोमा प्रदेश ७ को प्रतिव्यक्ति आय ६ सय ६० अमेरिकी डलर मात्र छ।
मुलुकको केन्द्रीय राजधानी रहेको प्रदेश ३ मा प्रतिव्यक्ति आय १ हजार ५ सय ३४ अमेरिकी डलर छ। त्यस्तै, प्रदेश १ को प्रतिव्यक्ति आय १ हजार २४ र गण्डकी प्रदेशको प्रतिव्यक्ति आय १ हजार २१ अमेरिकी डलर छ। यसैगरी, प्रदेश ५ को प्रतिव्यक्ति आय ८ सय ६८ र कर्णाली प्रदेशको ६ सय ७७ अमेरिकी डलर प्रतिव्यक्ति आय छ।
त्यस्तै, कुल गार्हस्थ उत्पादनको आधारमा पनि प्रदेशगत अंशको अन्तर ठूलो छ। यस्तो अन्तरको अंश ३१ दशमलब ९ प्रतिशतदेखि ४ दशमलब १ प्रतिशतको बीचमा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। तथ्यांकअनुसार प्रदेश ३ को आर्थिक हैसियत अन्य प्रदेशभन्दा सबल छ। यस प्रदेशले कुल गार्हस्थ उत्पादनमा ३१ दशमलब ९ प्रतिशत हिस्सा ओगटेको छ। कुल गार्हस्थ उत्पादनमा दोस्रो ठूलो योगदान गर्नेमा प्रदेश १, तेस्रोमा प्रदेश २, चौथोमा प्रदेश ५ र पाँचौमा गण्डकी प्रदेश छन्।
त्यसैगरी, कुल गार्हस्थ उत्पादनमा प्रदेश ७ ले ६ दशमलब ३ प्रतिशत र कर्णाली प्रदेशले सबैभन्दा कम अर्थात् ४ दशमलब १ प्रतिशत हिस्सा ओगटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।