केही महिना अघि दुबईमा चर्चित बलिउड अभिनेत्री श्रीदेवीको बाथटबमा डुबेर निधन भयो। सो समयमा उनकी जेठी छोरी जाह्न्वी कपुर आफ्नो पहिलो फिल्मको सुटिङमा व्यस्त थिइन्। आफ्नै बाटोमा हिँडेकी छोरीको यात्राको सुरुवात कस्तो होला भन्ने कौतुहलता स्वयम् आमा श्रीदेवीलाईसमेत थियो। तर उनी आफ्नो इच्छा पुरा नगर्दै जीवनदेखि नै ओझेल परिन्।
जाह्न्वी फिल्म ‘धडक’बाट सिनेमा यात्रामा निस्केकी छिन्। उनी एक सशक्त अभिनेत्रीकी छोरी भएका कारण पनि भारतीय दर्शक र फिल्मकर्मीहरुको आशाको केन्द्रमा छिन्। तर आमाले गहिरो छाप छोडेको बाटोमा जाह्न्वीको यात्रा कम चुनौतिपूर्ण भने देखिँदैन।
जाह्न्वीले केही समयअघि बिबिसीसँगको कुराकानीमा आफ्नो जीवनमा दर्शक र शुभचिन्तकबाट पर्न गएको दबावसहित विविध कुराहरु साझा गरेकी छिन्। ‘सुटिङको समय मलाई अभिनय र यसको नतिजाबाट त्यति दबाव महशुस भएको थिएन। तर जब म मानिसहरुसँग साक्षात्कार हुनपुगें, तब मलाई दबाव महशुस भइरहेको छ।’, आफ्नो सुरुवाती अभिनय यात्राको बारेमा जाह्न्वी भन्छिन्, ‘आमा र हाम्रो पूरा खानदानलाई लिएर जतिपनि मायाममता पाइरहेकी छु, म त्यसप्रति आभारी छु। यही माया र सम्मान आफ्नो काम र मेहनतबाट कमाउन चाहान्छु।’
आमा साथमै हुँदा सुटिङमा असहज
फिल्म ‘धडक’को छायांकनका क्रममा जाह्न्वीलाई आमा श्रीदेवीलेसमेत साथ दिएकी थिइन्। तर केही समयपछि श्रीदेवीको निधन भयो। तर जाह्न्वीले मातृशोकका बावजुदपनि आफ्नो पहिलो प्रोजेक्टलाई रोकिनन्। पुरा गरेरै छाडिन्। जाह्न्वीले सुटिङको पहिलो दिन सम्झिँदै भनिन्, ‘फिल्मको सुरुवाती सुटिङको माहोल पूरा पारिवारिक थियो। कारण त्यो समय मम्मी साथमै हुनुहुन्थ्यो। तरपनि त्यतिबेला केही असहज महशुस भइरहेको थियो।’
‘मम्मीले मेरो फिल्मका केही सिनहरु देख्नु भएको थियो। उहाँले ती सिनहरु खुबै मनपराउनु भएको थियो।’, जाह्न्वीले थपिन्। सुटिङका क्रममा आफूलाई आमा श्रीदेवीले दिएको सल्लाह अझै ताजा छ। ‘फिल्मको दोस्रो भागमा तिमीले कुनै मेकअप नगर्नु।’, जाह्न्वीले आफ्नी आमाले भनेझैँ फिल्मको दोस्रो भागमा कुनै मेकअप नगरेको बताइन्।
सौतेनी दाजु र दिदी प्रेरणाको स्रोत
जाह्न्वी आमा श्रीदेवीजस्तै आफू पनि संवेदनशील रहेको बताउछिन्। साथमा आमाजत्तिकै मिठाइको सौखिन पनि।
आफ्नी आमाको निधनले जाह्न्वीको जीवनमा केही नैरास्यता सृजना गर्यो। आमाको छहारीको अभावमा उनका पछिल्ला केही महिना सहजरुपमा बितेनन्। तर आफ्ना सौतेनी दाजु अर्जुन कपुर र दिदी अंशुला कपुरको माया, साथ र सहयोगले आफ्नो दुःखमा धेरै हदसम्म सहजता सिर्जना गरेको जाह्न्वी स्विकार्छिन्।
जाह्न्वी भन्छिन्, ‘यो दु:खद क्षणबाट हामीलाई बाहिर ल्याउन अर्जुन र अंशुलाको धेरै ठूलो हात छ।’
जाह्न्वीका लागी सौतेनी परिवारसँगको सम्बन्ध नयाँ हो। तर पनि उनी अर्जुन र अशुंलाई पारिवारिक सदस्य, त्यसमाथि एक असल प्रेरणाको स्रोतका रुपमा लिने गरेको बताउँछिन्।
जाह्न्वीका आँखामा सामाजिक सञ्जाल
जाह्न्वी कपुर फिल्मी करियरको सुरुवाती चरणभन्दा अगाडि नै सामाजिक सञ्जालमा निकै चर्चित बनिसकेकी थिइन्। तर सामाजिक सञ्जालमा जति नै चर्चित बनेपनि जाह्न्वीलाई यो दुनियाँ ‘देखावटी’ लाग्छ।
उनको बुझाइ छ– ‘सामाजिक सञ्जाल यस्तो ठाँउ हो जहाँ मानिसहरु जे देखाउन चाहन्छन्, त्यो सतही आँखाले मात्र हेर्छन्। त्यसको अन्तर्यमा कोही पनि पुग्दैनन्।’ सामाजिक सञ्जालमा प्राप्त नकारात्मक टिप्पणीले आफुलाई दुःखी तुल्याउने गरेको उनले बताइन्। भन्छिन्, ‘जब मानिसहरु सामाजिक सञ्जालमा नकारात्मक कुराहरु गर्दछन्, त्यो मलाई पटक्कै मन पर्दैन। हो म बुझ्छु सबैलाई आ–आफ्नो विचार राख्ने हक छ। सबैले सबैलाई भेटेरै उसको बारेमा टिप्पणी दिन सकिँदैन र यसका लागि सामाजिक सञ्जाल सहज माध्यम बनेको छ। तर समाजिक सञ्जालमा सकारात्मक कुरालाई भन्दा नकारात्मक कुरालाई अझ बढी प्रसय दिइन्छ, यसले मलाई निकै दुःखी बनाउने गरेको छ।’
समाजिक सञ्जालमा प्राप्त नकारात्मक प्रतिकृयाले दुःखी बनाएपनि आफ्नो काममा भने निरन्तर ध्यान दिने उनको भनाइ छ। त्यसकै माध्यमबाट सबैको मनमा बस्ने संकल्प राखेको बताउँदै जाह्न्वीले भनिन्,‘मेरो संघर्ष अन्य दोस्रो व्यक्तिका लागि संघर्ष नै नलाग्न सक्छ। तर, मेरो काम, मेरा लागि संघर्ष नै हो र म यही कामबाट नै सबैको मन जित्न चाहन्छु।’
मनपर्ने फिल्महरु
माधुवाला, वहिदा रहमान, मीना कुमारी, नुतनजस्ता सफल फिल्महरुबाट प्रभावित बनेकी जाह्न्वीको सपना पनि सबैमाझ आफ्नो अभिनय कला देखाउने रहेको छ। तर उनलाई लाग्दैनकी अब यस्ता सफल र ऐतिहासिक फिल्ममा जस्तो सफलता हासिल गर्न सकिन्छ। भन्छिन्,‘यी फिल्महरु त अरु कुनै दुनियाबाट आएका हुन्।’
फिल्म ‘धडक’मा इसान खट्टरसँगै जाह्न्वी
बलिउड उद्योगमा आफ्नी आमा श्रीदेवीकोभन्दा बढी सपना देखेकी जाह्न्वीको प्रमुख अभिनय रहेको फिल्म धडक आजैदेखि प्रदर्शनमा आएको छ। फिल्ममा जाह्न्वीसँगै इसान खट्टरलाई पनि प्रमुख भूमिकामा देख्न सकिन्छ। फिल्म ‘धडक’ मराठी फिल्म ‘सैराठ’को हिन्दी रुपान्तरण हो। जसलाई शशांक खेतानले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।