काठमाडौं– नेपाली फिल्म हलहरुमा शुक्रबारदेखि तीन वटा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। प्रायः कुनै पनि हप्ता सोलो प्रदर्शनको मौका नपाउने नेपाली फिल्महरुको हविगत यो हप्ता पनि दोहोरिएको हो। शुक्रबार हलहरुमा फिल्म ‘भैरे’, ‘चक्कर’ र ‘पण्डित बाजेको लौरी’ एकैसाथ प्रदर्शनमा आएका छन्।
गत शुक्रबार मात्र ४ वटा फिल्म ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ प्रदर्शनमा आएका थिए। यी चार फिल्ममध्ये फिल्म ‘बोबी’ले केही मात्रामा ब्यपार गरे पनि अन्य ३ फिल्मको ब्यापार सुखद पाइएन। यस हप्ता थप ३ नयाँ फिल्मले एकसाथ हल प्रवेश गर्दा नेपाली फिल्म बजारमा फिल्मको संख्या ७ पुगेको छ।
यसै शुक्रबारदेखि बलिउड फिल्म ‘धडक’ र हलिउड फिल्म ‘दि इक्वेलाइजाइर २’ पनि प्रदर्शनमा आएका छन्। त्यसो त सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ पनि नेपाली हलहरुमा प्रदर्शनरत छ।
यसरी एकैदिन ५ नयाँसहित अन्य पुराना फिल्महरु एकसाथ प्रदर्शनरत रहँदा सिंगो नेपाली फिल्म उद्योग नै धरासाही हुने बताउँछन् नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय। ‘अहिले नेपाली फिल्म उद्योग संक्रमणकालीन अवस्थामा छ, र यो अवस्था अझै केही समय रहिरहन्छ’, उदय भन्छन्, ‘भर्खरै नेपालमा बक्स अफिस लागू भएको छ। कतिपय फिल्म निर्मातालाई बक्स अफिस लागू भएपछि फिल्मबाट भयंकर कलेक्सन हुन्छ भन्ने भ्रम फैलिएको छ। जसले गर्दा अझै केही समय यस्तै अव्यवस्थित फिल्म निमार्ण जारी रहने हुँदा केही समय नेपाली फिल्म बजार अस्तव्यस्त रहन्छ।’
फिल्म वितरक तथा हलवाला गोपाल काजी कायस्थ पनि नेपाली फिल्म बजारमा बग्रेल्ती फिल्म प्रदर्शनमा आउनुलाई गुणस्तरहिनताको उपज ठान्छन्। नेपालमा थोरै लगानीमा सहजै फिल्म बनाउन सकिने र फिल्म उद्योगको वास्तविक अवस्थाको जानकारी नहुँदा यसरी धेरै फिल्म बनिरहेकाले हप्तै पिच्छे धेरै फिल्म प्रदर्शनमा आएको कायस्थको भनाइ छ।
शुक्रबार प्रदर्शनमा आएका फिल्महरु
भैरे
एभरेस्ट सूर्यबहादुर बोहोराको निर्देशनमा निमार्ण भएको फिल्म ‘भैरे’ युवा रोजगार उन्मुख रहेको निमार्ण पक्षले बताउँदै आएकोछ। जसमा दयाहाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय छ।
पण्डित बाजेको लौरी
नेपालका विभिन्न स्थानमा बसोबास गर्ने वादी समुदायको कथामाथि निमार्ण भएको ‘पण्डित बाजेको लौरी’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ। फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन्।
फिल्मा जातीय विभेदलाई उजागर गर्ने प्रयास गरिएको छ। फिल्ममा भोलाराज सापकोटा, प्रविण खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायत कलाकारको अभिनय छ।
चक्कर
प्रचार–प्रसारका हिसाबमा त्यति हावी नदिखिएको ‘चक्कर’ आपराधिक जनरामा निमार्ण भएको फिल्म हो। फिल्मलाई अनुष्क रौनियारले निर्देशन गरेका हुन्। रविन आचार्यको निर्माण र छायांकन रहेको फिल्ममा ऋचा शर्मा, एभोनराज उप्रेती, अर्पण थापा, सिर्जना सुब्बा, स्मृति पोखरेल लगायतको अभिनय छ।
धडक
दिवंगत वलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्न्वी कपुर र शहिद कपुरका भाई इशान खट्टरको मुख्य अभिनय रहेको फिल्म ‘धडक’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ। जाह्न्वीको यो पहिलो फिल्म हो। फिल्म धडकलाई शशांक खेतानले निर्देशन गरका हुन्।
यी ४ नयाँ फिल्मसहित हलिउड फिल्म ‘दि इक्वेलाइजाइर २’ पनि शुक्रबार बाट नै प्रदर्शनमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।