नयाँदिल्ली- भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरेको विषयले निकै चर्चा पाएको छ।
भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठकमा सहभागी हुने क्रममा संसद भवनको बैठक कक्षमा गान्धीले मोदीलाई अंकमाल गरेका हुन्।
भारतीय संसद्मा प्रधानमन्त्री मोदीका विरुद्ध बिहीबार प्रतिपक्षी दल कंग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। अरुबेला जुनसुकै मञ्चबाट मोदीलाई आलोचना र घोचपेच गर्दै आएका गान्धीले मोदीलाई अंकमाल गरेको यो समाचारले निकै चर्चा पाएको हो।
प्रधानमन्त्री मोदी बसेकै ठाउँमा गएर राहुलले अंकमाल गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
विपक्षी दल कंग्रेसले उक्त प्रस्ताव दर्ता गराएसँगै संसद् चल्न नदिने भन्दै अवरोध गरेको थियो। सो अवरोधप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री मोदीले संसद्को काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका थिए।
शुक्रबार बिहान ट्विट गरेर मोदीले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलसँग आग्रह गरेका थिए।
संसदको वर्षे अधिवेशन भएकाले यसले कानुन निर्माणदेखि अरू धेरै काम गर्नुपर्ने भएकाले अवरोध गर्न नहुने प्रधानमन्त्री मोदीको भनाइ थियो।
उनले सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा छलफल गरी त्यसबाट समाधान निकाल्न तयार रहेको भन्दै संसद् चल्न दिन मोदीले आग्रह गरेका थिए। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।