इटहरी– मोरङ जिल्लाको बूढीगंगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकममा व्यापक अनियमितता र विषयान्तर गरिएको आरोप लगाएका छन्।
व्यावसायिक च्याउखेती गर्दै आएका किसानले शुक्रबार पत्रकार सम्मेलन गरी परियोजना अन्तर्गत किसानको हितमा आएको रकम गाउँपालिकाले दुरुपयोग गरी किसानप्रति उपेक्षित नीति लिएको आरोप लगाए। किसानको हितका लागि निकासा भएर आएको पैसा खास किसानलाई उपलब्ध नगराइएको र विषयान्तर गरेर रकम दुरुपयोग गरिएको तथ्यसमेत फेला परेको किसान नेपाल च्याउ उद्योगका सञ्चालक सरोज नेपालले दावी गरे। उनले उक्त प्रमाणसहित गाउँपालिकाविरुद्ध इटहरीस्थिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लिखित उजुरीसमेत दिने तयारी भइरहेको बताए।
च्याउखेती किसानका लागि अनुदानका रुपमा आएको १६ लाख २० हजार रुपैयाँमध्ये केही रकम च्याउखेती किसानलाई झारा टार्ने हिसाबले उपलब्ध गराएर अधिक रकम अन्यत्र लगाइएको पाइएको अर्का किसान इन्द्र तिम्सिनाले दावी गरे।
व्यावसायिक च्याउ किसानले सार्वजनिक गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको रकम हिनामिना सम्बन्धमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीसँग बारम्बार मोबाइलमा सम्पर्क गर्दा पनि सफल हुन सकेन।
गाउँपालिकाअन्तर्गत रहेका ४० देखि ५० जना व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले दैनिक ६० हजार रुपैयाँ बराबरको च्याउ उत्पादन गर्नेगरेको र दैनिक ४० हजार रुपैयाँसम्म च्याउको बीउसमेत बिक्री गर्दै आएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।