धनगढी– धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण सुरु गरेको छ।
उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको (अति गरीब), मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेँलो रङको (मध्यम गरीब) र सहवीर चौधरीलाई (सामान्य गरीब) नीलो रङको परिचयपत्र वितरण गर्दै सो कार्यको थालनी गरेका हुन्। उनले परिचयपत्र वितरण गर्दै गरीब घर परिचयपत्रका आधारमा राज्यले भविष्यमा सेवासुविधा दिने बताए।
यसअघि परिचयपत्र वितरणमा सहभागी हुने कर्मचारीलाई गरीब घर परिचयपत्र वितरणसम्बन्धी अभिमुखिकीकरण दिइएको थियो। उपमहानगरमा ५ हजार ८ सय ८५ जना गरीबीको परिचयपत्र पाउनयोग्य रहेको बताइएको छ।
उपमहानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत सुरेन्द्रसिंह कार्कीले उपमहानगरमा गरीबमध्ये अतिगरीब २ हजार ८ सय ५८, मध्यम गरीब १ हजार ८ सय ३७ र सामान्य गरीब १ हजार २ सय ९० जना रहेको जानकारी दिए।
देशभर कैलालीसहित ८ जिल्लामा नमूनाका रुपमा गरीब घर परिचयपत्र वितरण गर्न लागिएको छ। सरकारले २०६९ मा गरेको गरीबको सर्वेक्षणका आधारमा परिचयपत्र दिने कार्य सुरु भएको हो।
यसैबीच सेवाग्राहीको समस्यालाई ध्यानमा राखी उपमहानगरले नागरिकता प्रमाणपत्र लिनुअघि आवश्यक पर्ने फाराम सेवाग्राहीलाई निःशुल्क रुपमा उपलब्ध गराएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।