लहान– सिरहाको धनगढीमाई नगरपालिकामा एक युवकमाथि शुक्रबार राति गोली प्रहार भएको छ।
घनगढी बजारबाट धनगढीमाई नगरपालिका वडा नम्बर ९ स्थित घर जाने क्रममा ३० वर्षीय प्रदीप यादवमाथि वडा नम्बर १३ स्थित भर्लेनी भन्ने स्थानमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।
स८प ३१९१ नम्बरको मोटरसाइकलमा सवार यादवलाई ४÷५ जनाको संख्यामा रहेको समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उनको बायाँ हत्केलामा गोलीको छर्रा लागेको छ।
यादवलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले धनगढीमाई नगरपालिका–९ निवासी बेचन महतोलाई पक्राउ गरेको छ। संलग्न अन्य व्यक्तिको खोजी भइरहेको थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।