काठमाडौं– डा गोविन्द केसीको समर्थनमा तरुण दलले निकालिएको र्यालीमा प्रहरीले बल प्रयोग गरेको छ।
दुइ पक्षबीच भएको झडपमा आन्दोलनकारी तथा प्रहरी घाइते भएका छन्। तरुण दलका अध्यक्ष जितजंग बस्नेतको समेत टाउकोमा चोट लागेको छ। एक इन्सपेक्टर पनि घाइते भएका छन्।
त्यस्तै, डा केसीको पक्षमा भएको बानेश्वरमै भएको अर्काे कार्यक्रममा पनि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएपछि प्रहरीले हस्तक्षेपकाे प्रयास गरेको थियो। यद्यपी कार्यक्रम सम्पन्न भएको छ।
नयाँ बानेश्वर क्षेत्रमा कोणसभा चलिरहेपनि बबरमहल क्षेत्रमा रहेका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो। आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ।
अश्रु ग्यास र ढुंगा हानहानमा परी इन्स्पेक्टरसहित केही आन्दोलनकारी घाइते भएको बताइएको छ। ढुंगा प्रहारबाट सडक छेउमा पार्किङ गरिएका केही सवारी साधनमा समेत क्षति पुगेको छ।
२२ दिन देखि अनसनरत डा केसीको जीवन रक्षा र मागको सम्बोधनका लागि दबाव दिन आज विशाल प्रदर्शन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।