काठमाडौं– डा गोविन्द केसीको अनसनप्रति ऐक्यवद्धता जनाउन राजधानीमा विरोध प्रदर्शन गरिएको छ। विरोध र्यालीपछिको सभामा बोल्ने नागरिक समाजका अगुवाहरुले वर्तमान सरकार इतिहासकै बदनाम सरकार भएको आरोप लगाएका छन्।
अधिकारकर्मी कृष्ण पहाडीले वर्तमान सरकार विधिको शासन विरोधी भएको आरोप लगाए। प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारमाथि बुँदागत रुपमै विभिन्न आरोप लगाएका थिए।
१) यो सरकार लोकतन्त्र विरोधी सरकार हो। संसदमा उपाध्यक्ष पद विपक्षी दललाई दिने विश्वभर मान्यता छ। तर, (ने क पा)ले उपसभामुख पद पनि ओगटेर बसिरहेको छ।
२) यो सरकार सूचना, प्रविधि विरोधी सरकार हो। चुनावअघि इन्टरनेटमा कर छुट गर्ने वाचा गरेको सरकारले अहिले १३ प्रतिशत कर लगाएको छ।
३) यो विधिको शासनको विरोधी सरकार हो। अदालतले दोषी र अपराधी ठहर गरेका व्यक्तिलाई कैद मिनाहा गरेको छ।
४) यो स्वाभिमान विरोधी सरकार हो। नेपालमा ६० हजार संस्थाहरु रहेका छन्। ति संस्थामध्ये केही नेताहरुका नाममा पनि सेवामुखी संस्थाहरु छन्। संस्थाहरुको उद्देश्य हटाएर नविकरण गर्न बाध्य पारिएको छ। उद्देश्य हटाएर संस्था नविकरण हुँदैन भन्ने अधिकार यो सरकारलाई कसले दियो?
५) ओली र प्रचण्ड सत्ताको भुलभुलैयामा अल्मलिएका छन्। जनता ऐय्या भन्न बाध्य छन्। यो आन्दोलन बढ्दै गएर सामूहिक सत्याग्रहमा पनि पुग्न सक्छ। बढ्दै गएर सामुहिक गिरफ्तारीमा जान पनि सक्छ।
६) सरकारले वैधानिक रुपमा दुई तिहाइ त ग्रहण गरेको छ। तर, जनताको मनमा हेर्ने हो भने सबैभन्दा बदनाम सरकार हो। पञ्चायतकालमा राजा महाराजाहरुले जतिसुकै गल्ती गरे पनि पञ्चहरुले अन्यय भक्त भएको भन्दै पाउ पर्थे। सेवकजस्ता शब्द लेखेर चाकडी गर्थे। परिर्वतन र लोकतन्त्रका लागि लडेका (ने क पा)का कार्यकताहरु त्यस्तै गरिरहेका छन्। परिर्वतन विरोधी निर्णय गरिरहँदा पनि प्रभुको अन्यय भक्त भएको भाषा प्रयोग कार्यकर्ताले गरिरहेका छन्।
७) नेपालमा समावेशिता प्रचण्ड र ओलीले ल्याएका होइनन्। जनआन्दोलनको शक्तिको बलमा आएको हो। पार्टीहरुमा ३३ प्रतिशत महिला सहभागिताको उपलब्धी जनआन्दोलनले ल्याएको हो। संविधानमा भएका निर्णयलाई लत्याउँदै (ने क पा)ले ३३ प्रतिशत महिलाको सहभागिता गराएको छैन। महिला हिंसा विरुद्धको वकालत गर्ने (ने क पा)का महिलाहरु ३३ प्रतिशत सहभागिता नहुँदा पनि मौन छन्।
८) सत्याग्रही माथि दमन सुरु भएको छ। देश अब अहिसांत्मक तरिकाले आन्दोलित हुन्छ। अहिंसात्मक आन्दोलनले निकासमा पुर्याउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।