काठमाडौं– नेपाली कांग्रेसले सरकार अधिनायकवाद उन्मुख रहेको आरोप लगाएको छ।
माइतिघर मण्डलामा भएको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले अन्धाधुन्ध आक्रमण गरेको जनाउँदै घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ।
अनसनरत डाक्टर गोविन्द केसीको मागमा ऐक्यवद्धता तथा पुरा गर्न दबाव दिने उद्देश्यले तरुण दलले आज माइतिघरमा विरोध प्रर्दशन गरेको थियो।
प्रहरीसँगको झडपमा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी घाइते भएको प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।
‘एकातर्फ संसदलाई छलेर ८ दिनपछि सार्ने अनि अर्कातर्फ सडकको प्रदर्शनमा पनि दमन गर्ने सरकारका विरुद्ध झनै एकतावद्ध ढंगले उभिनु पर्ने आवश्यकता हामीले महसुस गरेका छौँ।’, विज्ञप्तिमा भनिएको छ।
समस्याको वास्तविक समाधान चिकित्सा शिक्षा अध्यादेश नै भएको कांग्रेसको निष्कर्ष छ। ‘अध्यादेशलाई हुबहु विधेयकका रुपमा ल्याउनु नै डा. गोविन्द केसीले जारी राख्नु भएको अनसनको समाधान हो भन्ने कुरा जगजाहेर छ।’, शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
अनसनको तेस्रो साता पूरा भैसक्दा पनि वार्तामार्फत् समाधान खोजी केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नभएको जनाउँदै कांग्रेसले गैरजिम्मेवार प्रवृत्ति भएको ठहर गर्दै घोर भत्र्सना गरेको छ।
चिकित्सा शिक्षा विधेयक, मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा आन्दोलन जारी रहेको कांग्रेसले जनाएको छ। ‘सरकार आफ्नो रवैया रुपान्तरण गरेर तत्कालै समाधान खोज्नतर्फ नलागे अधिनायकवाद उन्मुख शैलीका विरुद्ध अझ प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नु पर्ने चेतावनी दिन चाहन्छौँ।’ विज्ञप्तिमा भनिएको छ।
सरकारको अमानवीय चरित्रः देउवा
सभापति शेरबहादुर देउवाले शान्तिपुर्ण प्रर्दशनमा सरकारले हस्तक्षेप गरेर अमानवीय चरित्र देखाएको भन्दै घटनाको भत्र्सना र निन्दा गरेका छन्। प्रहरीसँगको झडपमा घाइते भई उपचार गराइरहेका तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायतलाई भेट्न मिनभवनस्थित सिभिल अस्पताल पुगेका सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको निन्दा गरेका हुन्।
सरकारले अपराधपूर्ण तरिकाले तरुण दलका अध्यक्षसहित आफ्ना कार्यकर्तामाथि कुटपिट गर्ने काम गरेको दाबी गरे।
देउवाले घटनाको निन्दा गर्दै यस्तो काम बन्द गर्न पनि सरकारलाई चेतावनी दिएका छन् । उपचाररत नेता तथा कार्यकतालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भेटेका छन् ।
आइतबार ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ : तरुण दल
यसैबीच तरुण दलले प्रहरी हस्तक्षेपको विरोधमा मुलुकभर आन्दोलन चर्काउने चेतावनी दिएको छ।
शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरि कुटपीटमा उत्रिएको भन्दै तरुण दलले त्यसको विरोधमा आइतबार ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ गर्ने भएको हो। तरुण दलका उपमहासचिव दिनेश विक्रम शाहले प्रहरी दमनको विरुद्ध चरणवद्ध आन्दोलन चर्काउने बताउँदै ओली सरकारको शसक्त प्रतिकार गर्ने बताए।
स्वतन्त्र पत्रकारिता गर्न पाउने अधिकार माथिको हस्तक्षेप : प्रेस युनियन
यता नेपाल प्रेस युनियनले समाचार संकलनका क्रममा युनियनका महासचिव अजयबाबु शिवाकोटी घाइते भएको घटनालाई सरकारको अधिनायकवादी चरित्र भएको जनाएको छ।
नेपाल तरुण दलको विरोध प्रर्दशनमा प्रहरीको आक्रमणबाट नेपाल प्रेस युनियनका महासचिव शिवाकोटी घाइते भएका थिए। संघका सचिव खिला कार्कीले विज्ञप्ति प्रकाशित गर्दै यस घटनालाई संविधानले प्रदत्त स्वतन्त्र पत्रकारिता गर्न पाउने अधिकार माथिको हस्तक्षेप भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा सरकारलाई अधिनायवादी चरित्र सुधार्न आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।