काठमाडौं- सरकारले ३ वर्षमा ३ हजार ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसका लागि १० वर्षे दीर्घकालिन रणनीति बनाएर २०७५–०८५ लाई उर्जा विकास दशकका रुपमा मनाउने गत वर्षको बजेटमार्फत नै घोषणा गरिसकेको छ।
तर उर्जा दशक अभियानको पहिलो वर्ष भने लक्ष्यको १ चौथाइ भन्दा पनि कम विद्युत उत्पादन भएको छ। आर्थिक वर्ष २०७५/७६ मा विद्युत उत्पादन लक्ष्यभन्दा निकै कम भएको देखिन्छ।
नेपाल विद्युत प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा साढे ४ सय मेगावाट भन्दा बढी उत्पादनको लक्ष्य राखिएको भएपनि ७८ मेगावाट वराबर मात्रै उत्पादन भएर राष्ट्रिय प्रशारणलाईन जोडिएको छ।
गत आर्थिक वर्षमा ४ सय ६८ मेगावाट विद्युत उत्पादनको लक्ष्य राखिएको थियो। तर उत्पादन भने लक्ष्यको करिब १७ प्रतिशत बराबर मात्रै देखिन्छ।
प्राधिकरणले शुरुको लक्ष्यअनुसार विद्युत उत्पादन नहुने देखेपछि उक्त लक्ष्य संशोधन गर्दै १ सय ७८ मेगावाट गत आर्थिक वर्ष २०७५/७६ मा सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको थियो। तर प्राधिकरणको संशोधित लक्ष्य नै भेटिएको देखिँदैन।
नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीका अनुसार निजी क्षेत्रले उत्पादन प्रतिवद्धता जनाएअनुसार प्राधिकरणले उक्त लक्ष्य निर्धारण गरेको भएपनि उनीहरूले दिएको समयावधिमा काम सम्पन्न गर्न नसकेका कारण लक्ष्य नभेटिएको हो।
अघिल्लो आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा थपिएको ७८ मेगावाट विद्युतमध्ये ४८ मेगावाट निजी क्षेत्रबाट उत्पादन भएको हो भने बाँकी ३० मेगावाट सरकारी लगानी रहेको माथिल्लो त्रिशुली ‘ए’ आयोजनाबाट उत्पादन भएको हो।
६० मेगावाटको माथिल्लो त्रिशुली ‘ए’ जलविद्युत आयोजनाका पनि दुईवटा युनिट मध्ये गत आर्थिक वर्षमा एउटा युनिटमात्र सञ्चालनमा आईसकेका कारण ३० मेगावाट मात्रै विद्युत उत्पादन भएको छ।
माथिल्लो त्रिशुली ‘ए’ आयोजनाको दोश्रो युनिट सञ्चालनका लागि ठेकेदार कम्पनीले काम नगरेपछि त्यो सञ्चालनमा आउन सकेको छैन। अधिकतम एक हप्तामा सकिने काम भए पनि ठेकेदार कम्पनीले काम नगरेपछि अर्को युनिट सञ्चालनमा आउन नसकेको प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ।
अघिल्लो आर्थिक वर्षमा निजी क्षेत्रका ८ वटा आयोजना सञ्चालनमा आएका छन्। जसमध्ये २२ मेगावाट उत्पादन क्षमताको बाग्मती खोला साना जलविद्युत आयोजना सबैभन्दा ठूलो आयोजना हो।
त्यसैगरी गत आवमा ८ दशमलव ८ मेगावाटको रुदीखोजा आयोजना, ७ दशमलव ८ मेगावाटको सुपरमाई जलविद्युत आयोजना, ५ मेगावाटको पिखुवा खोला, ३ दशमलव ३ मेगावाट उत्पादन क्षमताको कपडीखोला आयोजना सञ्चालनमा आए।
०.१० मेगावाट उत्पादन क्षमताको मिदिम खोला र ०.९ मेगावाटको सोबुवा खोला पनि राष्ट्रिय प्रणालीमा जोडिएपछि निजी क्षेत्रबाट कुल ४८ मेगावाट बराबर मात्रै विद्युत उत्पादन भएको छ।
उर्जा विकास दशकको दोश्रो वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ का लागि विभिन्न २३ वटा आयोजनाबाट ९ सय ८३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।
दोलखा जिल्लामा निर्माण भएको ४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना चालु आर्थिक वर्षमा सञ्चालनमा आउने लक्ष्य लिइएको सबैभन्दा ठूलो आयोजना हो।
१ सय ११ मेगावाट उत्पादन क्षमताको रसुवागडी ८२ मेगावाटको तल्लो सोलु र ४२ मेगावाटको साञ्जेन जलविद्युत आयोजना यस आर्थिक वर्षमा निर्माण सम्पन्न भएर संचालनमा आउने लक्ष्य राखिएका आयोजनाहरु हुन्।
आर्थिक वर्ष २०७७/७८ का लागि भने ४ सय ५५ मेगावाट कुल उत्पादन हुने गरी ३० वटा जलविद्युत आयोजना सञ्चालनमा आउने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।