काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममाझ उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
सिप्रदीका उपाध्यक्ष सौरभराज थपलिया, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा प्रमुख अपरेटिङ अधिकृत राजेश गिरीको उपस्थितिमा एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय र ओरियन्टल इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक एमडी नायरले सम्झौता-पत्रमा हस्ताक्षर गरेका थिए।
यसअघि सिप्रदीले शिखर इन्स्योरेन्ससँग क्यासलेस बीमा गरेको थियो, जुन नेपालकै पहिलो रहेको कम्पनीङ्को दाबी छ।
यो योजनामार्फत् दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको वृहत् सञ्जाल भएको सर्भिस सेन्टरहरूमा गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन्।
सिप्रदीका ग्राहकहरूलाई द्रुत, सहजै प्राप्त गर्न सकिने र झञ्झटमुक्त सेवाहरू प्रदान गर्न यो व्यवस्था फाइदाजनक सावित हुने कम्पनीले विश्वास लिएको छ। सिप्रदीले हालसम्म ४ वटा बीमा कम्पनीहरूसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ र आगामी दिनमा अझ धेरै ग्राहकहरूलाई सेवा उपलब्ध गराउने उद्देश्यसहित अन्य बीमा कम्पनीहरूसँग सहकार्य गर्ने योजना रहेको पनि जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।