काठमाडौं- नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले एनसेलको पुँजीगत लाभकरबारे सर्वोच्च अदालतले गरेको फैसला अध्ययन गर्न कानुन न्याय तथा मानव अधिकार समितिमा गरेको प्रस्तावमा आफूले भाग लिने बताएका छन्।
नेपाल लाइभको कार्यक्रम 'समय संवाद'मा कुरा गर्दै सांसद गौतमले कांग्रेस संसदीय दलले कानुन न्याय तथा मानव अधिकार समितिबाट विकास तथा प्रविधि समितिमा पठाए पनि यस विषयमा आफ्नो सहभागिता रहने बताए।
‘एनसेलको पुँजीगत लाभकरबारे सर्वोच्च अदालतले गरेको फैसला अध्ययन गर्न प्रस्ताव गरेको थिएँ। हामीले अनुमति लिएर लिएर भाग लिन पाउछौं। छलफल, सल्लाहमा बस्न पाइन्छ,’ गौतमले भने, ‘एउटा समितिको जिम्मेवारी हुन्छ। कुनै पनि समितिमा जान चाह्यौं भने त्यहाँको सभापतिज्युलाई यो विषयमा मेरो रुचि छ, संलग्न हुन्छु भन्दा संलग्न गराउनुपर्छ। त्यो संसदीय परम्परा पनि हो।’
सांसद गौतमले एनसेलको लाभकरबारे सर्वोच्चले गरेको फैसला जनताका लागि चर्चा र चासोको विषय भएकाले यसबारे अझ गहन अध्ययन गर्ने प्रतिबद्धता जनाए। उनले यो विषयलाई जनताले जति उत्सुकताका साथ हेरेका छन्, त्यति नै गम्भीर पनि रहेको बताए।
पूरा अन्तर्वार्ता तलको भिडियोमा हेर्न सकिनेछ-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।