काठमाडौं- भ्वाइस टेलिफोन सेवा लिने ग्राहकको संख्या ४ करोड १३ लाख ९५ हजार ७ सय १४ पुगेको छ। सोमबार नेपाल दुरसञ्चार प्राधिकरणले दिएको जानकारी अनुसार यो संख्या पुगेको हो। जसमध्ये सबैभन्दा बढी ग्राहक नेपाल टेलिकमका छन्।
प्राधिकरणका अनुसार गत असार मसान्तसम्ममा नेपाल दुरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बाट भ्वाइस टेलिफोन सेवा लिने ग्राहकको संख्या २ करोड २६ लाख ९६ हजार २ सय ४८ छ। जसमध्ये १ करोड ६५ लाख १६ लाख ५९ हजार ८ सय ९८ जनाले सिडिएमए, २ करोड २ लाख ३८ हजार ३ सय ३७ जनाले जिएसएम प्रयोग गरिरहेका छन्।
त्यसैगरी टेलिकमकै ५ सय ८१ वटा भिस्याट, १ लाख २० हजार वटा वायरलेस इन लोकल लुप (डब्ल्युएलएल) र ६ लाख ७७ हजार १ सय २८ वटा पिएसटिएन सेवा लिइरहेका छन्।
एनसिएलको जिएसएम प्रयोगकर्ता १ करोड ६६ लाख ३७ हजार ३८ जना रहेको नेपाल दुरसंचार प्राधिकरणको तथ्यांकमा उल्लेख छ। त्यसैगरी, नेपाल स्याटलाईट टेलिकम लिमिटेडका प्रयोगकर्ता संख्या २० लाख ६० हजार ६ सय ८६ पुगेको छ।
असार मसान्तसम्मको तथ्यांक अनुसार अहिले १ करोड ९४ लाख ४१ हजार ७ सय १० जना ब्रोडब्यान्ड सेवा प्रयोगकर्ता छन्।
ब्रोडब्यान्ड सेवा प्रयोगकर्तामध्ये फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ता करिब ४० लाखको हाराहारीमा छन्। फिक्स्ड ब्रोडब्यान्ड (वायरलेस)को संख्या भने २ लाख ४५ हजार पुगेको छ।
मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये १ करोड ११ लाख ६० हजार ३ सय ३४ जनाले थ्री जी प्रयोग गरिरहेका छन् भने ३९ लाख ४३ हजार ५ सय ५७ जनाले फोर जी प्रयोग गरिरहेका छन्।
नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको इभिडिओ सेवाका प्रयोगकर्ता भने १ लाख ३६ हजार ५ सयको हाराहारीमा छ।
प्राधिकरणका अनुसार हाल कुल जनसंख्याको ६५ दशमलव ८७ प्रतिशतले ब्रोडब्यान्ड प्रयोग गरिरहेका छन्। जसमध्ये फिक्स्ड ब्रोडब्याण्डको संख्या १३ दशमलव ४१ प्रतिशत, फिक्स्ड ब्रोडब्याण्ड (वाइरलेस) को संख्या शून्य दशमलव ८३ प्रतिशत र मोबाईल ब्रोडब्याण्डको संख्या ५१ दशमलव ६४ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।