सिन्धुपाल्चोक- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन सिन्धुपाल्चोकका इकाइ प्रमुख प्रकाश पौडेलले सिन्धुपाल्चोकका युवालाई मकैबाटै आत्मनिर्भर बनाउन सकिने दाबी गरेका छन्। सोमबार मिस्टर कर्न सञ्चालन तालिमको समापन गर्दै उनले मकैको सम्भावनाबारे चर्चा गरेका हुन्।
बालबालिकालाई आमाको दूधपछिको पोषिलो खानाको रुपमा चर्चा गर्दै प्रमुख पौडेलले सिन्धुपाल्चोकको माटो मकै बालीको लागि सुहाउँदो भएकाले सबै जग्गामा मकै खेती गर्न सकिएमा युवा वैदेशिक यात्रामा कमी ल्याउन सकिने बताए। तालिमको समापनसँगै होटल तथा पर्यटन व्यवसायीसँग छलफल गर्दै प्रमुख पौडेलले होटलहरुमा विशेष मेनुको रुपमा मकैका परिकार राखेर पर्यटकलाई आकषत गर्न सकिने धारणा राखे।
‘सन् २०४० सम्ममा मकै बाली कृषि क्षेत्रको पहिलो नम्बरको औद्योगिक बालीको रुपमा अगाडि आउँदैछ,’ मकै बालीको चर्चा गर्दै प्रमुख पौडेलले भने, '४५ सयभन्दा बढी प्रकारको परिकार बनाउन सकिने मकै बाली औषधि र तेल बनाउन समेत प्रयोग हुन्छ।’
कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिका–५ का अध्यक्ष एवं होटल व्यवसायी समेत रहेका नरमान श्रेष्ठले सन् २०२० मा पर्यटन वर्ष समेत रहेकाले जिल्लाका होटलहरुमा मकैका परिकार पस्केर पर्यटकलाई आकर्षीत गर्न सकिने धारण व्यक्त गरे। ‘हामी हाम्रा होटलमा समेत अब मकैका परिकारले पाहुनाको स्वागत गर्नेछौं,’ वडाध्यक्ष श्रेष्ठले भने, 'मकै खेतीलाई प्रोत्साहन गरेर किसानको आयआर्जन समेत वृद्धि गर्न सकिन्छ।’
गोलभेडा लगायतका बालीभन्दा करिब ११९ प्रतिशत ज्यादा उत्पादन हुने भएकोले आधुनिक प्रविधिबाट उन्नत जातका मकै बाली लगाउनु आवश्यक रहेको उनले बताए।
मकैका परिकारका साथै मकैका अन्य उत्पादन खोस्टा, ढोड लगायतका अन्य गैरखाद्य सामग्री समेत उत्पादन गरी कोसेली घरमार्फत बजारीकरणमा सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिका–१३ का अध्यक्ष रामप्रसाद गौतमले बताए।
‘हाम्रा होटलमा ग्राहकहरु मकैको ढिँडो पाएसम्म भात खान रुचाउँदैनन्,’ गौतमले भने, ‘ढिँडोसँगै मकैका अन्य परिकार पनि खुवाउन सकियो भने यसले पक्कै पनि पर्यटकलाई स्वाद र स्वास्थ्यको दृष्टिकोणबाट पनि फाइदा पुग्नेछ।’
‘चामल हैन मकैको खाना खाँऔं, साठी हैन असी वर्ष बाँचौं’ भन्ने विश्व स्वास्थ्य संगठनको नारा अनुसार सिन्धुपाल्चोकमा मकै जोन स्थापना सँगै मकै प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन्। चौतारा साँगोचोकगढी नगरपालिकाको वडा नं १३, ठूलोसिरुवारीमा अमेरीकन स्वीट कर्न जातको मकै खेती गरिएको छ भने जिल्लामा होटल तथा रेस्टुराँका सेफहरुलाई मकैको परिकार बनाउने रेसिपी सहितको तालिमसमेत सञ्चालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।