काठमाडौं- उपभोक्ताको चाहना सयमअनुसार परिवर्तन हुँदै जाने गरेको छ। सवारी उत्पादक कम्पनीहरूले उपभोक्ताको चाहनालाई ध्यानमा राखेर निश्चित मोडललाई मात्र निरन्तरता नदिई त्यसलाई क्रस गरेर नयाँ सवारी बनाउने गरेका छन्।
कम्पनीहरुले भएका मोडलहरुलाई क्रस गरेर मध्यम रेन्जको सवारी उत्पादनलाई प्राथमिकता दिन थालेको केही वर्ष मात्र भएको छ। एसयुभी सेगमेन्टका सवारी साधन महँगो हुने र आकारसमेत केही ठूलो हुने भएकाले एसयुभीलाई परिमार्जन गरी क्रसओभर युटिलिटी भेइकल (सियुभी) उत्पादन थालिएको हो।
सियुभीलाई कम्प्याक्ट युटिलिटी भेइकलका रुपमा परिभाषित गरिँदै आएको छ। सामान्यतयाः सियुभीलाई कम्प्याक्ट युटिलिटी भेइकलभन्दा गलत नै नहुने भए पनि यसको खास अर्थ क्रसओभर युटिलिटी भेइकल हो। विश्व अटोमोबाइल उद्योगमा यो शब्दावली नयाँ नै हो। यो सवारीहरूको सेगमेन्टमा एउटा नयाँ आयामसमेत भएको उत्पादकहरूको भनाइ छ। हाल सियुभीलाई कम्प्याक्ट युटिलिटी भेइकल नै भन्न थालिएको छ।
पछिल्लो समय उपभोक्ताको रोजाइमा यही सेगमेन्टका सवारी पर्न थालेका छन्। एसयुभीकै फ्लेभर आउने तर एसयुभीभन्दा सस्तो मूल्यमा पाइने हुँदा सियुभीमा उपभोक्ताको आकर्षण बढेको हो। सवारी उत्पादक कम्पनीहरुले यो सेगमेन्टका सवारीलाई उच्च प्राथमिकता राख्ने गरेका छन्। यसका साथै सबैजसो सवारी उत्पादकले सियुभी सेगमेन्टको कार उत्पादन गरेका छन् नै।
के हो सियुभी?
धेरैजसो अटोमोबाइल कम्पनीहरूले सियुभी (क्रसओभर युटिलिटी भेइकल) उत्पादन गरिरहेका छन्। सियुभी सेगमेन्टका गाडीहरू अधिकांश उत्पादकले कारको प्लेटफर्ममा उत्पादन गर्दै आएको पाइन्छ। सियुभी त्यो सेगमेन्टको गाडी हो, जुन एसयुभी (स्पोर्टस् युटिलिटी भेइकल) पनि होइन र ह्याचब्याक कार पनि होइन। एसयुभी सेगमेन्टको फिचरका साथै प्यासेन्जर भेइकल ह्याचब्याकको स्टेसन वेगन सेगमेन्टका फिचरहरूको एकीकृत रुप नै सियुभी हो। लक्जरी तथा कम्प्याक्ट सवारी पनि चाहने र सहरी साँघुरा बाटोमा गुडाउन मिल्ने गरी बनेको हुन्छ सियुभी।
सियुभीको बनावट हेर्ने हो भने ‘युनिबडी’ जस्तो देखिन्छ। यो गाडी कारमात्र होइन भने पूर्ण एसयुभी पनि होइन। सियुभीको ग्राउन्ड क्लियरेन्स एसयुभीभन्दा कम र कारको भन्दा बढी हुन्छ। यो गाडी हाइ सेन्टर अफ ग्राभिटीका आधारमा निर्माण गरिएको हुन्छ। त्यसैले सियुभीको हाइ सेन्टर अफ ग्राभिटी एकदमै राम्रो हुन्छ। सियुभी गाडीहरू (अल ह्विल ड्राइभ (फोर ह्विल) तथा टु ह्वील ड्राइभमा समेत उपलब्ध हुन्छन्। सियुभी फ्रन्ट ह्विल, रेयर ह्विल वा अल ह्विल ड्राइभमा आधारित हुन्छ।
यस्ता गाडीहरू हिप पोइन्ट मेकिङका आधारमा निर्माण गरिएको हुन्छ। सियुभी सेगमेन्टका गाडीहरूमा हाइ ‘एच प्वाइन सिटिङ’ सिट रहेका हुन्छन्। यस्ता गाडीहरूमा बस्दा ज्यादा आरामदायी महसुस गर्न सकिन्छ। सियुभी सेगमेन्टका गाडीहरू नेपालको काठमाडौं (सिटी रोड) र लाइट अफरोडमा समेत उपयोगी मानिन्छ। उपभोक्ताहरू एसयुभी भनेर सियुभी लिने र झुक्किने सम्भावना पनि रहन सक्छ। त्यो नितान्त फरक कुरा हो। एसयुभी अग्लो हुन्छ तर सियुभी एसयुभी जति अग्लो हुँदैन। तर अहिलेका सवारी उपभोक्ता निक्कै सचेत भइसकेका छन्।
एसयुभीपछि सियुभी र त्यसपछि केही कम्पनीले एसएभी (स्पोर्टस् एक्टिभिटी भेइकल) भनेर समेत उत्पादन गरेका छन्। केही कम्पनीहरूले ह्याचब्याकको समेत क्रसओभर सवारी उत्पादन गरिरहेका छन्।
सियुभीमा बढी लेन्थ र हाइट एक्युजिसन गरिएको हुन्छ। एसयुभी ठूलो र अग्लो सवारी हो। सियुभी सवारीमा बडीको साइज सानो भएपनि ‘इन्टेरियर स्पेस’ भने धेरै बनाइएको हुन्छ। सियुभीको अर्को मुख्य विशेषता भनेको यो सवारीको भित्री आवरण छालाजस्तै पातलो हुने गरी निर्माण गरिएको हुन्छ। ‘स्किनिङ द इन्टेरियर डिजाइन’ मा आधारित रहेर बनाइन्छ। पातलो बनाउने नाममा यस्ता सवारीको गुणस्तर खस्केला भनेर उत्पादकहरू ज्यादै सचेत हुने गरेका छन्।
पछिल्लो समय नेपाली बजारमा सियुभी सेगमेन्टका सवारी प्रयोगकर्ताहरू बढ्दै गएका छन्। सहरी बाटो तथा सामान्य खालका अफ रोडमा उपयोगी हुने भएकाले नेपालमा सियुभी सेगमेन्टका गाडीको माग वृद्धि हुँदै भएको व्यवसायीहरूले बताएका छन्। यसको पुष्टि धेरै सवारी आयातकर्ताहरूले नेपालमा भित्र्याएका सो सेगमेन्टका गाडीको डाटाले गर्दछ।
सियुभी सेगमेन्टका कारको लेन्थ ४४ सय एमएमभन्दा कम हुन्छ भने इन्जिन क्षमता १२ सयदेखि १४ सय सीसीसम्म हुन्छ। यो सेगमेन्टमा नेपाली बजारमा फोर्डको इकोस्पोर्ट, होन्डाको बिआर–भी र डब्लूआर–भी, हुन्डाई क्रेटा तथा भेन्यू, महिन्द्रा थार, टियुभी–३००, केयुभी–१०० र एक्युभी–३०० रहेका छन्।
त्यस्तै मारुती सुजुकीको इर्टिगा, एसक्रस र भिटारा ब्रेजा, निसान/ड्याटसनको टेरानो, किक्स र गोप्लस, रेनोको डस्टर र क्याप्चर र टाटाको सुमो र नेक्सन नपाली बजारमा उपलब्ध सियुभी हुन्। पछिल्लो समय यी सवारीबीच तिब्र प्रतिस्पर्धा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।