काठमाडौं- राष्ट्रिय बीमा कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषबीच बचतकर्ताहरुको ११ लाख बराबरको उपचारको बिमा सुविधा उपलब्ध गराउने समझदारी लागू हुने भएको छ।
गत वर्षको कात्तिक २८ गते बिमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच भएको समझदारीअनुसार १ लाख रुपैयाँ बराबरको औषधोपचार तथा १० लाख बराबरको घातक रोग उपचारका लागि बिमा सुविधा २०७५ मंसिर १ गतेदेखि नै लागू हुने बताइएको थियो।
हालसम्म ५३ जना सञ्चयकर्ता बिरामीहरुका लागि ३ करोड ८ लाख रुपैयाँ बराबरको बीमा दाबी भूक्तानी समेत गरिसकिएको बीमा कम्पनीले बताएको छ।
यसै सन्दर्भमा मंगलबार कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी ८ जना घातक रोगका सञ्चयकर्ताहरुलाई करिब ४० लाख बराबरको घातक रोगको औषधोपचार खर्च प्रदान गरिएको छ।
यसरी बीमा दाबी रकम प्राप्त गर्ने सञ्चयकर्ताहरुमा श्री शिवजी गुरुङ, शान्ता थापा देउला, राधा देवी भट्टराई, नरेन्द्र कुमार श्रेष्ठ, शान्त बहादुर देउला, सावित्री आचार्य, शान्तबहादुर भुजेल र लेखनाथ खतिवडा छन्।
कार्यक्रममा वक्ताको रुपमा बिरामी सञ्चयकर्ताको तर्फबाट शिवजी गुरुङ्गले सञ्चय कोष र बीमा कम्पनी बीच भएको यस प्रकारको बीमाले आम सञ्चयकर्ताहरुलाई निकै नै राहत मिलेको अनुभव सुनाएका थिए।
कम्पनीको तर्फबाट प्रतिक्रिया राख्दै प्रमुख कार्यकारी अधिकृत डा डिल्लीराज अर्यालले केही प्राविधिक तथा प्रशासनिक कठिनाइ भए पनि कम्पनीले बिमा दाबी भुक्तानी प्रक्रिया अघि बढाएको बताए। आगामी दिनमा अझ सशक्त ढङ्गबाट दाबी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।