गत भदौ २३ बाट काठमाडौंमा सुन्दर यातायातले सञ्चालनमा ल्याएको इलेक्ट्रिक बस।
काठमाडौं- विश्वभर सार्वजनिक नीतिमा विद्युतीय सवारीलाई प्राथमिकता दिइएको र ब्याट्रीको लागतमा कमी आएका कारण विद्युतीय बसको माग तथा प्रयोग बढेको छ। यही रफ्तारमा विद्युतीय बसको प्रयोग बढ्ने हो भने सन् २०२५ सम्ममा विश्वभर विद्युतीय बसको संख्या तेब्बर हुने एक अध्ययनले देखाएको छ।
चिनियाँ सडकमा सन् २०२३ सम्ममा विद्युतीय बसको संख्या १० लाख पुग्ने अनुमान गरिएको छ। सन् २०२५ मा यो संख्याले १३ लाख नाघ्ने अनुमान उड मेकइन्जाई पावर एन्ड रिनिएवल्सले गरेको अध्ययनले देखाएको छ।
सन् २०१८ मा पनि चीनको हेबी-ड्युटी इलेक्ट्रिक भेइकल सेगमेन्टमा विश्व बजारमा बजार हिस्सा ९८ प्रतिशत थियो। चीनले इलेक्ट्रिक बसलाई उच्च प्राथमिकता दिएको देखिन्छ। यसको आधार के हो भने सन् २०१९ को अन्त्यसम्ममा चीनले ५० हजारभन्दा बढी चार्जिङ स्टेसन बनाउने घोषण यसअघि नै गरेको थियो। यो संख्या २०२५ सम्म पुग्दा दोब्बरभन्दा धेरै हुने अनुमान गरिएको छ।
सन् २०१८ मा चीनमा जति बस खरिद गरिएको थियो त्यसको २३ प्रतिशत हिस्सा इलेक्ट्रिक बसको थियो। त्यस्तै सन् २०४० सम्ममा विश्वभर खरिद गरिने बसमा ४० प्रतिशत हिस्सा इलेक्ट्रिक बसको हुने अनुमान उक्त अध्ययनले गरेको छ।
अमेरिका तथा युरोपमा पनि बढ्ने अनमान
उडम्याकका अनुसार सन् २०२५ सम्ममा युरोप तथा अमेरिकाको सडकमा ४० हजार इलेक्ट्रिक बस हुनेछन्। सन् २०१९ को अन्त्यमा युरोप र अमेरिकामा ७ हजार ३ सय इलेक्ट्रिक बस हुनेछन्। यो क्षेत्रमा इलेक्ट्रिक बसका लागि स्किमको रुपमा ६ अर्ब डलर खर्चिने अनुमानसमेत उक्त अध्ययनले गरेको छ।
इलेक्ट्रिक बसको प्रविधि परीक्षण र स्कुल बस सञ्चालकहरुले पूर्ण विश्वास गरी नसकेकाले पनि संख्या नबढेको बताइएको छ। आगामी दिनमा भने यो अवस्थामा परिवर्तन आउने अध्ययनमा आँकलन गरिएको छ।
युरोप र अमेरिकामा चार्जिङ पूर्वाधार सीमित
चीनमा इलेक्ट्रिक बस चार्जिङ पूर्वाधारको विकास तीब्ररुपमा भइरहेको छ। तर, त्यसको तुलनामा युरोप तथा अमेरिकामा निक्कै कम हुनुले यो क्षेत्रमा इलेक्ट्रिक बस विस्तार हुन समय लाग्ने देखिएको छ।
सन् २०२५ सम्ममा चीन, अमेरिका तथा युरोपमा इलेक्ट्रिक बस चार्जिङ स्टेसनको संख्या १ लाख ८ हजार हुने सो अध्ययनमा भनिएको छ। सन् २०१९ देखि २०२५ सम्ममा विश्वभर ६८ हजार डिपोट चार्जर जडान हुनेछन्। अमेरिका र युरोपमा ९ हजार भन्दा बढी हुने अनुमान गरिएको छ।
नेपालको प्राथमिकतामा पनि इलेक्ट्रिक बस
नेपालमा पनि सरकारले ३ सय इलेक्ट्रिक बस खरिद गर्न साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराइसकेको छ। त्यस्तै, निजी क्षेत्रको सुन्दर यातायातले २ वटा इलेक्ट्रिक बस ल्याएर सञ्चालन गरिसकेको छ।
कम्पनीले चाबहिलस्थित भत्केको पुलमा आफ्नै चार्जिङ स्टेसन निर्माण गरिसकेको छ भने अन्य स्थानमा बनाउने चरणमा रहेको जनाएको छ। कम्पनीले थप ५ वटा बस ल्याउने क्रममा रहेको र अर्को १ वर्षमा ५० वटा इलेक्ट्रिक बस ल्याउनेगरी चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ।
त्यस्तै, नेपाल विद्युत प्राधिकरणले पनि देशका विभिन्न स्थानमा इलेक्ट्रिक सवारी चार्जिङ स्टेसन बनाउने घोषणा गरिसकेको छ। सरकारले इलेक्ट्रिक सवारीलाई उच्च प्राथमिकता दिने नीति लिएको छ।
त्यहीअनुरुप सार्वजनिक प्रयोजनका लागि ल्याइने इलेक्ट्रिक बसमा १ प्रतिशत भन्सार, १३ प्रतिशत मूलय अभिवृद्धि कर र ४ प्रतिशत सडक मर्मत शुल्क लाग्ने व्यवस्था गरिएको छ। इलेक्ट्रिक सवारीमा अन्तःशुल्क नलाग्ने व्यवस्था गरिएको छ।
निजी प्रयोजनका लागि ल्याइने सवारीमा पनि १० प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ४ प्रतिशत सडक मर्मत सम्भार दस्तुर लाग्ने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।