काठमाडौं- नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नोटमा जुम्ल्याहा हात्ती राख्ने भएको छ।
अर्थ मन्त्रालयबाट जुम्ल्याहा हात्ती राख्ने प्रस्ताव स्वीकृत भई छपाइको प्रक्रियामा पुगेको राष्ट्र बैंकले जनाएको छ।
हाल प्रचलनमा रहेको हजारको नोटमा एउटा मात्रै हात्तीको तस्बिर अंकित छ। चितवनका जुम्ल्याहा हात्ती राम-लक्ष्मणको तस्बिर अंकित नोटको डिजाइन तयार भइसकेको छ। नयाँ नोट छपाइको टेन्डर चिनियाँ कम्पनीले पाइसकेको राष्ट्र बैंकले जनाएको छ। कम्पनीसँग जुम्ल्याहा हात्ती अंकित नयाँ नोट छपाइको लागि केही दिनमै सम्झौता हुने राष्ट्र बैंकको भनाइ छ।
छपाइको सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट बजारमा आउनेछ। २०७७ को दसैंसम्ममा जुम्ल्याहा हात्ती अंकित १ हजारको नयाँ नोट बजारमा आउने अनुमान गरिएको छ।
चितवन राष्ट्रिय निकुन्जमा भएका राम र लक्ष्मण ८ वर्षका भए। हाल छपाइको तयारीमा रहेको हजारको नोट छाप्दा प्रतिनोट ३ रुपैयाँ ३७ पैसा खर्च लाग्ने भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए।
जुम्ल्याहा हात्ती अंकित ३१ करोड थान नोट छाप्नुपर्ने गरी सम्झौता हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।