काठमाडौं- सरकारले आर्थिक वर्ष २०७६/७७ को आर्थिक ऐनमार्फत् हाइब्रिड कारमा दिइएको ५० प्रतिशत अन्तःशुल्क मिनाहाको व्यवस्था खारेज गरेको छ। आर्थिक ऐनमार्फत सरकारले हाइब्रिड कारमा भन्सार र अन्तःशुल्क दुवैमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो।
अर्थ मन्त्रालयले भदौ ५ गते हाइब्रिड कारको परिभाषासहित ५० प्रतिशत अन्तःशुल्क छुट हटाएको हो। अब हाइब्रिड कार आयात गर्दा भन्सारमा मात्र ५० प्रतिशत छुट पाइने छ भने अन्य कर साविक अनुसार नै हुने भएको छ।
अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार आर्थिक ऐनमा गरिएको व्यवस्था परिमार्जन गरी हाइब्रिड कारमा दिइएको ५० प्रतिशत अन्तःशुल्क छुट हटेको हो।
‘अटोमोबाइल व्यवसायीहरूले सुझाव दिएअनुसार नै भन्सारमा ५० प्रतिशत छुटको व्यवस्था कायम गर्दै अन्तःशुल्क छुटको प्रावधान हटाइएको हो,’ स्रोतले भन्यो, ‘नाम मात्रका हाइब्रिड कारले पनि छुट पाउने अवस्था रहेकाले हाइब्रिड कारको पुनः परिभाषा गर्दै अन्तःशुल्क छुटको व्यवस्था हटेको हो।’ यो व्यवस्था भदौ ५ गतेको निर्णयपछि नै कार्यान्वयनमा आएको स्रोतको भनाइ छ।
विभिन्न वर्गका हाइब्रिड कार हुने भएकाले सरकारी परिभाषाले सबै खाले हाइब्रिड कार ल्याउन मिल्ने थियो। त्यही आधारमा सुजुकीका स्मार्ट हाइब्रिड कार ५० प्रतिशत भन्सार तथा अन्तःशुल्क छुटमा नेपाल भित्र्याएको थियो। त्यसपछि सरकारले हाइब्रिड कारको परिभाषा परिमार्जन गरेको हो।
नयाँ परिभाषा अनुसार प्लग-इन हाइब्रिड र पियोर हाइब्रिडले मात्र भन्सार छुट पाउने भएका छन्। अर्थ मन्त्रालय स्रोतले नेपाल लाइभलाई दिएको जानकारीअनुसार अब पेट्रोल र ब्याट्री दुवैबाट चल्ने कारलाई हाइब्रिड कार भनिने छ र त्यो कारले भन्सार दरमा ५० प्रतिशत छुट सुविधा पाउने छ।
सरकारले २०७५ चैतमा व्यापार घाटा न्यूनीकरण गर्ने सम्बन्धमा राष्ट्रिय कार्ययोजना ल्याएको थियो। त्यसैका आधारमा पेट्रोलियम पदार्थको आयात न्यूनीकरण गर्न सरकारले इन्धन खपत कम गर्ने हाइब्रिड कारमा साविकमा लाग्दै आएको कारको भन्सार तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो। अटोमोबाइल व्यवसायीहले उक्त व्यवस्थाको अपव्याख्या गरेको भन्दै सरकारले अन्तःशुल्क छुटको व्यवस्था हटाएको हो।
सरकारले इन्धन र ब्याट्री दुवैबाट चल्ने पियोर हाइब्रिड सवारीलाई छुट दिन खोजेको हो। विगतमा पनि एक/दुईवटा हाइब्रिड कार नेपाल आएको थिए। तर ती कार साविक भन्सार तथा अन्तःशुल्कमै आएका थिए। नयाँ व्यवस्थासँगै व्यवसायीहरुले हाइब्रिड कार उच्च प्राथमिकताका साथ आयात गर्न थालेको र प्रक्रियामा रहेका छन्।
नेपालमा हाल कारमा ८० प्रतिशतसम्म भन्सार, ६० देखि १०० (इन्जिन क्षमताका आधारमा) प्रतिशतसम्म अन्तःशुल्क, १३ प्रतिशत भ्याट, ८ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर लाग्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।