काठमाडौं- दसैँको अवसर पारेर राजधानीको भृकुटीण्डपमा आयोजना गरिएको स्टक क्लियरेन्स मेला ९२ हजारले अवलोकन गरेका छन्। गत बुधबारदेखि सुरु भएर आइतबारसम्म चलेको मेलामा ग्राहको चापले उत्साहित बनाएको व्यवसायीहरूले प्रतिक्रया दिएका छन्।
इभेन्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भएको मेलामा एकै छानामुनी सेवाग्राहीलाई सस्तो मूल्यमा गुणस्तरीय सामान किन्ने अवसर प्रदान गरेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए।
असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक बिदा तथा शनिबार २ दिन बिदा परेका कारण अवलोकनकर्ताको बाक्लो उपस्थिति भएको इभेण्ट सोलुसन प्रलिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए।
इभेण्ट सोलुसनले पछिल्लो ३ वर्षदेखि नियमित रुपमा स्टक क्लियरेन्स मेला आयोजना गर्दै आईरहेको छ।
मेलामा जुत्ता तथा चप्पल उद्यमी समूहअन्तरगतका ४ वटा नेपाली ब्राण्डको शोरुममा अवलोकनकर्ता तथा ग्रागहकको विशेष चाप देखिएको थियो। बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने भएकाले खरिदकर्ताको चाप बढेको बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए।
रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्टक क्लियरेन्स मेला सकिए पनि ४ ब्राण्डको जुत्ता मेला भने फूलपातीसम्म निरन्तर चलिरहने छ। अलग्गै डूममा चलिरहेको जुक्ता मेलामा स्पोर्टस, क्याजुअल तथा पार्टी सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको छ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।