काठमाडौं- नेपाल धितोपत्र बोर्डले ट्रस्टी ऐनसम्बन्धी काम अगाडि बढाउन तथा धितोपत्र दलाल सदस्य (ब्रोकर)ले लिने सेवा शुल्क र संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्न दुई वटा छुट्टाछुट्टै अध्ययन समिति गठन गरेको छ।
ट्रस्टी ऐन तर्जुमासम्बन्धी काम अघि बढाउन बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो भने ब्रोकरको सेवाशुल्क घटाउने तथा उनीहरुको सामाजिक उत्तरदायित्व सम्बन्धमा अध्ययन गर्न उप-कार्यकारी निर्देशकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको बोर्डका प्रवक्ता निरज गिरिले जानकारी दिए।
चालु आर्थिक वर्षको बजेटमा सामूहिक लगानी कोष, शेयर अभौतिकीकरण र सिडिएससीलगायतका कार्य व्यवस्थित गर्न ट्रस्टी ऐन तर्जुमा गर्ने कुरा उल्लेख गरेको थियो। सरकारको वार्षिक बजेटअनुसार धितोपत्र बोर्डले पनि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा धितोपत्र बजारको स्थायित्व तथा दीर्घकालीन विकासका लागि ट्रस्ट ऐन तर्जुमा गर्ने उल्लेख थियो।
ट्रस्टी ऐनको मस्यौदा गरी नेपाल सरकारसमक्ष प्रस्तुत गर्ने र सरकारमार्फत् विधेकय प्रक्रियामा लैजाने व्यवस्था रहेको सन्दर्भमा ट्रस्टी ऐनको मस्यौदासम्बन्धी कार्य अगाडि बढाउन बोर्डका नियमन तथा व्यवस्थापन विभाग हेर्ने कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ।
त्यसैगरी, अर्को समितिले धितोपत्र दलाल व्यवसायीले लिने सेवाशुल्क तथा उनीहरुले बहन गर्नुपर्ने सामाजिक उत्तरदायित्व निर्धारणका विषयमा अध्ययन गर्नेछ।
पछिल्लो समय धितोपत्र कारोबारको दायरा फराकिलो बन्दै गएको र लगानीकर्ताहरुबाट लिइने सेवाशुल्क घटाउनुपर्ने माग लगानीकर्ताले गर्न थालेका छन्। सोही पृष्ठभूमिमा बोर्ड, नेप्से र धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क (ब्रोकर शुल्क) समिति अध्ययन गरिनेछ। समितिले शुल्क निर्धारण गर्दा अन्तर्राष्ट्रिय अभ्यासमेत अध्ययन गरी सुझाव पेश गर्नेछ।
त्यसैगरी, धितोपत्र व्यवसायीहरुले लगानीकर्ता साक्षरता अभिवृद्धि गर्न मुनाफाको कम्तीमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याई खर्च गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा लैजान पनि समितिले अध्ययन थाल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।