कर्मचारीले कम्प्युटर चलाउन नजानेपछि जलेश्वर मालपोतका काम सातादेखि ठप्प

नेपाल लाइभ | २०७६ असोज ६ सोमबार | Monday, September 23, 2019 १९:४६:०० मा प्रकाशित

जनकपुर- भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरको कामकाज विगत लगभग एक सातादेखि ठप्प रहेको छ। 

सरकारले यही असोज १ गतेदेखि नै देशभरका मालपोत कार्यालयको कामकाज अनलाइन बनाउने कार्यक्रम लागू गरेको छ। तर जलेश्वर मालपोत भने सोही दिनदेखि ठप्प रहेको मालपोत कार्यालका प्रमुख भुपबहादुर बोगटीले बताए।

मालपोतका सबै कामकाज अनलाइन भएपछि यहाँबाट हुने मोठ, रोक्का, रजिस्ट्रेसन, नामसारी, मुद्दा, तामेली लगायतका सबै कामकाज कम्प्युटरबाट गर्नुपर्ने भएको छ। तर यहाँ त्यस्ता काम गर्ने कार्यरत कर्मचारीलाई कम्प्युटरसम्बन्धी ज्ञान नभएको तथा चलाउन नजानेकाले मालपोतको सबै कामकाज ठप्प रहेको उनले बताए।

उनले तालीम प्राप्त दक्ष जनशक्ति नहुँदा कामकाज अनलाइनबाट गर्न नसक्ने भएकाले कामकाज ठप्प रहेको जानकारी दिए। उनले विभाग र मन्त्रालयले यहाँका कर्मचारीलाई कम्प्युटरसम्बन्धी तालिम दिएर विस्तारै उक्त प्रणाली लागू गर्नुपर्नेमा एक्कासी सबै काम अनलाइनबाट गर्न आदेश दिएपछि समस्या भएको बताए।

मालपोत विभागले एसआरएस कन्सल्टेन्सी काठमाडौंबाट तालिम दिन गजेन्द्र ठाकुरलाई पठाएर एकहप्ते तालिम दिइसकेको छ। तर पनि यहाँका कर्मचारीले अनलाइनबाट काम गर्न नसकेका ठाकुरले जानकारी दिए। 

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका अध्यक्ष श्यामसुन्दर यादवले नयाँ प्रविधिबाट होस् वा पुरानो प्रविधिबाटै होस्, कार्यालयले जनताको काम रोक्न नहुँने बताए।