काठमाडौं- कृषि प्राविधिकहरुले ‘एक गाउँ, एक प्राविधिक’सम्बन्धी निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दबाब आन्दोलन सुरु गरेका छन्।
काठमाडौंको माइतीघर मण्डलामा मंगलबार भेला भएका कृषि प्राविधिकहरुले ‘एक गाउँ, एक प्राविधिक’सम्बन्धी सरकारले गत भदौ २९ गते गरेको निर्णय तत्काल खारेज गर्न माग गर्दै विरोध प्रर्दशनसहितको दबाब आन्दोलन सुरु गरेका हुन्।
स्थानीय तहमा कार्यरत ३ हजारभन्दा बढी कृषि प्राविधिकहरुको बिचल्ली हुनेगरी सरकारले गरेको सो निर्णय खारेज गर्न माग गर्दै दबाब आन्दोलन सुरु गर्नुपरेको नेपाल कृषि तथा भेटनरी हक, हित संरक्षण संघर्ष समितिका उपसंयोजक छबी भट्टराईले जानकारी दिए।
२०७३ सालमा सबै स्थानीय तहमा सरकारले सर्तसहितको सेवा, सुविधा दिनेगरी कृषि तथा भेटनरीहरुमा ३ हजारभन्दा बढी कृषि प्राविधिकहरु नियुक्त गरेको थियो। उनीहरुको रोजगारीको ग्यारेन्टी नगरी सरकारले एउटा गाउँमा एउटा मात्रै प्राविधिक राख्ने निर्णय गरेपछि कृषि प्राविधिकहरुले सो निर्णयको विरोधमा आन्दोलन सुरु गरेका हुन्।
प्रदर्शनसहितको आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले आफूहरुको आन्दोलनमा साथ दिन सम्पूर्ण कृषक तथा कृषि क्षेत्रमा कार्यरत संघ, संस्थाहरुलाई पनि अपिल गरेका छन्। (फाइल तस्बिर-ओएस नेपाल)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।