काठमाडौं- सरकारले असोज १२ अर्थात् घस्थापनाको दिनदेखि सार्वजनिक यातायातको रुट निलम्बन गर्ने भएको छ।
असोज १२ गतेदेखि सार्वजनिक यातायात संचालन गर्न रुट पर्मिट नचाहिने सूचना यातायात व्यवस्था विभागले जारी गरेको छ।
दसैंको लागि एकठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन विभागले असोज १२ गतेदेखि १९ गतेसम्म रुट परमिट खुल्ला गरेको छ।
यात्रुको चाप धेरै हुने समयमा आवागमन सहज होस भने बाटो इजाजत पत्र (रुट पर्मिट) खुल्ला गरिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए।
‘दसैंमा धेरै यात्रु सहरी क्षेत्रबाट गाउँ जाने हुनाले सहरमा गुड्ने बसहरु समेत जान सकुन भनेर रुट खुल्ला गरिएको हो,’ हमालले भने, ‘यस्तो निर्णयले आवागमनलाई सहज बनाउँछ।’
त्यस्तै ट्राफिक व्यवस्थापनमा समस्या ल्याउने भएकोले यही अवधिसम्मको लागि काठमाडौं भित्रने मल्टी एक्सल ट्र्याक्टर टेलर (ठूला मालबाहक) लाई चितवनको नारायणगढदेखि आवागमनमा रोक लगाइने विभागको सूचनामा छ।
रुट पर्मिटको दुरुपयोग नहोस् भन्ने उदेश्यले ७ दिन मात्र रुट पर्मिट खोलिएको र आवश्यक परेमा यसको अवधि बढाउन सकिने विभागले जनाएको छ।
यस विषयमा व्यवसायीहरु समेत सचेत हुनुपर्ने विभागको भनाइ छ।
विगतका वर्षहरुमा पनि सरकारले दसैंको समयमा सवारीको रुट पर्मिट खल्ला गर्ने गरेको थियो।
यात्रुको चाप कम हुने रुटका सवारी धेरै यात्रु भएको रुटमा जान सकुन भनेर यस्तो निर्णय हुने गरेको हमालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।