काठमाडौं- पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले ५ वटा निजि क्षेत्रका पर्यटन व्यवसायीको सहकार्यमा काजखस्तानको नूरसुल्तान (अस्टाना)मा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ।
द एक्सप्लोर नेपाल, नेपाल होलिडे मेकर्स टुर्स एन्ड ट्राभल्स, हिमालयन होलिडेज, फिसटेल टुर्स एण्ड ट्राभल्स र भृकुटी हिमालयन ट्रेक्ससँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रम सेप्टेम्बर १८ देखि २० सम्म संचालन भएको थियो।
पाटा ट्राभल मार्टको ४२औं संस्करणमा 'नेपाल पेभिलियन' अन्तर्गत सक्रिय तथा प्रभावकारी सहभागिता जनाउँदै नेपाललाई जीवन्त अनुभव प्रदान गर्ने गन्तव्यको रुपमा प्रवर्द्धन गरेका थिए।
काजखस्तान पर्यटनद्धारा होस्ट गरिएको ट्राभल मार्ट २०१९ मा विश्वभरका ६३ गन्तव्यबाट कुल १२ सय सहभागीहरुले सहभागिता जनाए।
यसमा १८० वटा संघ/संस्था/कम्पनी तथा ३४ वटा गन्तव्यबाट कुल ३ सय ४७ बिक्रेता सहभागी सहभागी थिए।
पर्यटन बोर्ड र पाटा नेपालले मार्टमा अन्तर्रा्ष्ट्रिय एवम् स्थानीय सहभागीलाई नेपालको पर्यटन प्रवर्धन र गन्तव्यहरुबारे जानकारी प्रदान गराएका थिए भने निजी क्षेत्रबाट सहभागी पर्यटन व्यवसायीले नेपालको प्रोडक्ट प्याकेज तथा व्यापार अवसरबारे विश्वव्यापी क्रेतासमक्ष छलफल भेटघाट गरेका छन्।
नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले नेपालका लागि पाटा ट्राभल मार्टको सहभागिता नेटवर्किङ व्यापार विस्तार तथा पर्यटन प्रवर्धनका लागि सँधै सफल र प्रभावकारी रहेको बताइन्।
त्यसैगरी पर्यटन बोर्डकी प्रबन्धक अर्चना केसी रानाले आमन्त्रित सहभागिहरुलाई बोर्डको सामाजिक संजालमार्फत नेपाली गन्तव्यहरुबारे अपडेट प्राप्त गर्न तथा अभिप्रेरित गराउने उद्धेश्यले मार्टमा एउटा डिजिटल अभियानको समेत आयोजना गरिएको बताइन्।
मार्टमा स्तुपा, प्रेयर फ्ल्याग र मनोरम हिमालयन दृश्यसहित नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका विविध सेवा तथा वस्तुहरुले सजाइएको नेपाल पेभिलियन मार्टमा सहभागी आकर्षित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।