काठमाडौं- अहिले हरेक नेपालीको भान्सामा प्याज अनिवार्यजस्तै बनिसकेको छ। अघिकांश परिकारमा प्याजको प्रयोग गरिन्छ। तर दसैंतिहारलगायत चाँडवाडको संघारमा भने नेपालीको भान्सामा ‘प्याज आउट’ हुने भएको छ।
नेपालको सहरी क्षेत्रको शतप्रतिशत माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाएपछि प्याज अभाव हुने देखिएको हो।
भारतले आइतबारबाट कुनै पनि मुलुकमा प्याज निर्यात नगर्ने जनाएको छ।
भारतले प्याजको निर्यात बन्द गरेपछि नेपालको बजारमा त्यसको असर पार्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए।
‘प्याज नेपाली बजारमा शतप्रतिशत भारतीय बजारबाटै आउने गरेको छ। प्याज कोल्डस्टोरमा राख्ने चलन छैन, माग अनुसार ल्याएर बिक्री वितरण गर्ने हो। त्यसकारण निर्यातमा बन्देज लगाएपछि त्यसको प्रभाव त अवश्य देखिन्छ,’ पौडेलले भने।
प्याज उत्पादन हुने मुख्य क्षेत्र महाराष्ट्र र कर्नाटक राज्यमा आएको बाढीका कारण भारतमा प्याज अभाव भएपछि सरकारले निर्यातमा बन्देज लगाएको हो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार प्याज निर्यात नीति संशोधन गर्दै निर्यातमा बन्देज लगाएको जनाएको छ।
मागअनुसार आपूर्ति नहुँदा भारतको बजारमा प्याजको मुल्य आम मानिसले किन्नै नसक्ने गरी बडेपछि भारतीय सरकारले यस्तो निर्णय लिएको जनाएको छ।
दुई हप्ताअघि भारत सरकारले प्रतिटन ८ सय ५० अमेरिकी डलरमा निर्यात गर्ने गरी न्यूनतम मूल्य निर्धारण गरेको थियो। भारतले वार्षिक ४९ करोड ६८ लाख अमेरिकी डलर बराबरको प्याज विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ।
कुनै देशले आफ्नो उत्पादनमा अल्पकालीन बन्देज लगाउन सक्ने र यस्ता विषयमा अन्तराष्ट्रिय सन्धिसम्झौताहरु आकर्षित नहुने बताउँछन् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल। भारतले नेपालका लागि नभई उसले निर्यात गर्दै आएका सबै मुलुकमा निर्यात बन्देज लगाएका कारण नेपालले तेश्रो मुलुकबाट आयात गर्नुको अरु विकल्प नरहेको ढकालको भनाई छ।
नेपालमा वार्षिक अर्बौं रुपैयाँ बराबरको प्याज भारतबाट आउने गरेको छ। गत आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ७९ लाख ५२ हजार ५ सय किलोग्राम प्याज भारतबाट आयात भएको थियो। उक्त परिमाणको प्याज आयातमा ५ अर्ब २६ करोड ९६ लाख १४ हजार रुपैयाँ भारत गएको भन्सार विभागको तथ्यांकले देखाउँछ। ५ अर्ब २६ करोड रुपैयाँ बराबरको प्याज आयातबाट २६ करोड ३८ लाख ५ हजार रुपैयाँ राजश्व संकलन भएको पनि भन्सार विभागको तथ्यांकले देखाउँछ।
त्यसैगरी चालु आर्थिक वर्षको साउन महिनामा मात्र ४५ करोड १४ लाख ९३ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ३९ हजार २ सय ७८ किलोग्राम प्याज भारतबाट आयात भएको छ।
बढी खपत हुने चाँडबाँडकै समयमा प्याज आयात गर्न नपाउने भएपछि नेपाली बजारमा आईतबार नै प्याजको अभाव देखिएको छ। व्यापारीले प्याज बेच्न छाडेका छन्। कालोबजारीको सम्भावना पनि उत्तिकै देखिएको छ। मौज्दातमा रहेको प्याज व्यापारीले अत्यधिक मूल्यवृद्धि गरी बजारमा पठाउने सम्भावना पनि उतिकै छ।
यो पनिः
भारतमा अचानक बढ्यो प्याजको मूल्य, नेपाली बजारमा ३ गुणा मूल्यवृद्धि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।