काठमाडौं- संघीय संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको आइतबार बसेको बैठकले भुटान, बंलगादेश, भारत र नेपालका ऊर्जा हेर्ने संसदीय समितिको ‘क्षेत्रीय संसदीय समिति सम्मेलन’ गर्ने निर्णय गरेको छ।
यी देशबीच जल ऊर्जाको उपयोग, अन्तरदेशीय प्रशारणलाईन स्थापनामार्फत विद्युतको आदानप्रदानलगायतका विषयमा छलफल गर्न सम्मेलन आयोजना गर्न लागिएको समिति सभापति पूर्णाकुमारी सुवेदीले बताइन्।
यस्तो सम्मेलनबाट सहभागी देशका प्रतिनिधिहरुबीच सहकार्य हुने र आपसी सम्बन्ध थप मजबुत हुने समिति सभापति सुवेदीको भनाई छ।
समितिको आइतबारको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव तथा लगानी बोर्ड र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिलाई बोलाएर सम्मेलनका विषयमा विस्तृत छलफल गरेको थियो।
आगामी फेब्रुअरी तेश्रो साताभित्रै काठमाडौंमा सो सम्मेलन आयोजना गरिसक्ने पनि समितिले निर्णय गरेको छ।
सम्मेलन आयोजना गर्नका लागि समिति सभापति खड्काको अध्यक्षतामा मुल समारोह समिति पनि गठन गरिएको छ।
मूल समारोह समितिमा समिति सदस्य एकजना, ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव, वन तथा वातावरण मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, र लगानी बोर्डका कार्यकारी निर्देशक सदस्य रहेका छन्। उक्त समितिको सदस्य सचिव भने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सचिव रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।