आइतबार बेलुका देखिएको होटलको दृश्य।
काठमाडौं- २०७२ को भूकम्पपछि बन्द पाँचतारे होटल 'दी एभरेष्ट' सञ्चालनमा आएको छ।
२०७२ बैसाख १२ गतेको भूकम्पपछि पनि झन्डै दुई महिनासम्म सञ्चालनमा रहेको उक्त होटल २०७२ असारबाट भने पूर्णरुपमा बन्द भएको थियो। बैसाख २९ गते गएको दोस्रो पराकम्पनपछि भने होटल सञ्चालन गर्न नमिल्ने भन्दै पर्यटन विभागले रातो स्टिकर लगाइदिएपछि असारदेखि होटल बन्द थियो।
कर्मचारी र व्यवस्थापनको विरोधका कारण पनि होटल लामो समयसम्म मर्मत हुन सकेको थिएन। २०७५ फागुनमा होटल व्यवस्थापन र कर्मचारीबीच सहमति भएसँगै होटल मर्मत सुरु भएको थियो।
व्यवस्थापनले कर्मचारीलाई पुनः काममा लगाउने गरी सहमति भएसँगै मर्मत सुरु भएको थियो। भूकम्पको कारण होटलको मुख्य पिलरमै समस्या देखिइएको थियो।
समस्या देखिएको संरचनाको मर्मतसँगै आइबारबाट होटल सञ्चालनमा आएको मानव संसाधन विभागका प्रमुख नारायण पौडेलले जानकारी दिए। तर, केही संरचना मर्मत गर्न भने बाँकी रहे पनि होटल सञ्चालन गर्नुपर्ने बाध्यता भएपछि सञ्चालनमा ल्याएको उनको भनाइ छ। होटलको मुख्य लबी तथा केही कोठाहरु मर्मतपछि होटल पुनः सञ्चालनमा आएको पौडेले जानकारी दिए।
होटलमा पहिले काम गरिरहेका कर्मचारी पनि अधिकांश काममा फर्किसकेका उनको भनाइ छ। पौडेलका अनुसार अहिले १ सयभन्दा बढी कर्मचारी काममा पर्किसकेका छन्।
४ दशकअघि देखि सञ्चालनमा आएको होटलमा भारतीय लगानी रहेको छ। होटल बन्दसँगै लगानीकर्ताबीच पनि मनमुटाव सुरु भएको थियो।
कतिपयले भने होटलले बढी बीमा दाबी गर्दा पनि लामो समयसम्म मर्मत हुन नसक्दा होटल सञ्चालानमा ढिलाइ भएको बताउँदै आएका छन्। होटल व्यवस्थापनले झन्डै ३९ करोड रुपैयाँभन्दा बढी बीमा दाबी गरेको थियो।
तर, बीमा कम्पनीले भने उक्त रकम दिन नसक्ने बताउँदैगर्दा पनि होटल मर्मत गरी सञ्चालनमा ढिलाइ भएको थियो।
१९८१ देखि सञ्चालनमा आएको होटेलमा मकबुल अहमद लारीले करिब साढे तीन करोड रुपैयाँ पुँजीको होटेल दर्ता गराएका थिए। मकबुलले होटेलको आधा स्वामित्व आफ्नै भतिज मस्कुर अहमद लारीको नाममा हस्तान्तरण गरी व्यवस्थापनको जिम्मा दिएका थिए। पछि मकबुल चाहिँ लखनउमै बस्न थालेका थिए।
मकबुलको निधनपछि उनको स्वामित्व आफैंले खरिद गरिसकेको भन्दै मस्कुरले भतिज मुजाफलाई सेयर नदिएपछि पारिवारिक विवाद सुरु भएको थियो। जसका कारण पनि होटल मर्मत गरी सञ्चालनमा आउन ढिलाइ भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।