काठमाडौं– नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रधान कार्यालय क्यानडामा नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सम्झौता (एएसए) मा प्रारम्भिक सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव सुरेश आर्चायले जानकारी दिए।
सम्झौतामा दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट सात वटा उडान गर्न सक्ने उल्लेख छ। जसमा नेपाली एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमता र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्नेछ। अस्ट्रेलियन एयरलाइन्सले भने काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमतामा पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
दुई पक्षीय सम्झौतामा दुवै पक्षका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान संख्या वा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने उल्लेख छ।
सम्झौतमा मन्त्रालयका सहसचिव सुरेश आचार्य र अस्ट्रेलियन प्रतिनिधिमण्डलको तर्फबाट संघीय पूर्वाधार, यातायात, सहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका हुन्।
दुवै पक्षका एयरलाइन्सले दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र मध्यपूर्वका कुनै दुई विन्दुहरु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौं ट्राफिक अधिकार उपोग गर्न पाउने सम्झौतामा उल्लेख छ।
नेपालको हकमा अस्ट्रेलियाका गन्तव्य विन्दुभन्दा परको रुपमा न्युजिल्यान्डका दुई वटा विन्दुहरुमा पाँचौं ट्राफिक अधिकारको प्रयोग गर्न पाउनेछन् भने अस्ट्रेलियन पक्षको हकमा नयाँदिल्ली बाहेक नेपालका गन्तव्य विन्दुभन्दा परको रुपमा दुई विन्दुहरुमा पाँचौं ट्राफिक अधिकार प्रयोग गर्न पाउने गरी एएसए र एमओयू भएको आर्चायले जानकारी दिए।
साथै सम्झौताको अन्तिम बुँदामा भविष्यमा उडान संख्या बढाउन पनि सक्ने प्रावाधान राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।