काठमाडौं- 'एक गाउँ, एक प्राविधिक कार्यक्रम'अन्तर्गत करारमा नियुक्त भएका कृषि प्राविधिकहरुको माग सम्बोधन भएको छ। माग पुरा भएसँगै दुई हप्तादेखि आन्दोलनरत कर्मचारी काममा फर्किका छन्।
प्राविधिकको समस्या समाधान गर्नका लागि गठित सुझाव कार्यदलले उनीहरुलाई सेवामा निरन्तरता दिने र भुक्तानी हुन बाँकी तलब भुक्तानी गर्नुपर्ने भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव रघुराम विष्टको संयोजकत्वमा गठित सुझाव समितिले करार कृषि प्राविधिकहरुले उठाउँदै आएका विभिन्न ६ वटा विषयमा मन्त्रालयलाई सुझाव दिएको थियो। मन्त्रालयले ती सुझाव कार्यान्वयन गर्ने सहमति भएसँगै आन्दोलन पनि स्थगित भएको हो।
‘स्थानीय तहबाट प्रवाह हुने सेवाहरु किसानका लागि अत्यावश्यक रहेको र उक्त सेवासँग सम्बन्धित पदहरुमा स्थायी पदपूर्ति समेत नभइसकेको अवस्थामा ग्रामिण कृषक समुदायमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन हाल कार्यरत एक गाउँ एक प्राविधिक मार्फत प्रदान गरिरहेका प्राविधिकहरुको सेवालाई निरन्तरताका लागि सिफारिस गरिएको छ,’ मंगलबार दुई पक्षबीच भएको सहमतिमा भनिएको छ।
त्यसैगरी, हाललाई प्राप्त भएको तीन महिना र दसैं खर्चवापतको रकमसमेत गरी असोज महिनासम्मको लागि २ हजार ८ सय १३ जना कर्मचारीको तलबभत्ता उपलब्ध गराउने पनि सहमति भएको छ।
चालु आर्थिक वर्षको असोज महिनापछि बाँकी ९ महिनाको तलबका लागि अर्थ मन्त्रालयलाई ७० करोड रुपैयाँ निकासा मागिने भएको छ। (फाइल तस्बिर-ओएस नेपाल)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।