काठमाडौं- क्रिस्टल कञ्चनजंघा सेक्युरेटिज प्रालिले मार्जिन कारोबार सुविधा संचालनमा ल्याएको छ।
असोज ६ गते बसेको संचालक समितिको बैठकले मार्जिन कारोबार संचालन गर्ने कार्यविधि २०७६ पारित गरेको थियो भने मंगलबारबाट आधिकारिक रुपमा मार्जिन कारोबार गर्न सुरु गरेको कम्पनीले जनाएको छ।
क्रिस्टल कञ्चनजंघा प्रालिले मार्जिन कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट २०७५ साल चैत १४ गते अनुमति पाएको थियो भने नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट गत असार १२ गते अनुमति पाएको थियो।
नेपाल धितोपत्र बोर्डबाट सिडिएस एन्ड क्लियरिङ लिमिटेडको धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०७६ को पाँचौ संशोधन भई मिति २०७६ असोज १ गतेबाट लागू भएपछि यो सेवा संचालन ल्याउन ब्रोकर कम्पनीहरुलाई बाटो खुलेको हो।
मार्जिन कारोबार सुविधा लागु भएसँगै धितोपत्रका लगानीकर्ताले ब्रोकर कम्पनीमार्फत तोकिएको मार्जिन राखेर शेयर खरिद गर्न सक्नेछन्।
नेप्सेले २१ वटा ब्रोकर कम्पनीलाई मार्जिन कारोबार गर्ने अनुमति दिएको भए पनि अन्य ब्रोकर कम्पनीले भने यो सेवा शुरु गरिसकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।