काठमाडौं–चिनियाँ राष्ट्रपति सि चिनफिङ आउने बोइङ ७४७–८०० विमान अवतरण हुँदा विमानस्थलको उडान तथा अवतरण २४ घन्टा प्रभावित हुने भएको छ। राष्ट्रपति सि सवार हुने जहाजले अन्तर्राष्ट्रिय उडान तर्फको जहाज पार्किङ वेको ८० प्रतिशत भन्दा बढी ठाउँ ढाक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले जानकारी दिएकाे छ।
स्रोतका अनुसार ८ वटा पार्किङ वेमध्ये चिनियाँ राष्ट्रपति आउने जहाजले मात्रै ६ वटा जहाज पार्किङ गर्न सकिने ठाउँ ओगट्नेछ। जसका कारण अन्तर्राष्ट्रिय उडानमा २४ घन्टा भन्दा बढी समस्या आउने स्रोतको दाबी छ। ‘जहाजलाई अहिले अन्तर्राष्ट्रिय टर्मिनल भवनको अगाडि भागमा अन्य जहाज राख्ने गरी राख्न मिल्दैन,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजलाई उत्तर पट्टि फर्काएर राख्नुपर्दा हुदाँ ठूलो ठाउँ ओगट्छ।’
चिनियाँ राष्ट्रपति सवार जहाज सम्भवत असोज २७ गते दिउँसो २ बजेर ४० मिनेटमा विमानस्थलमा ल्यान्ड हुने स्रोतको दाबी छ। ल्यान्ड भएको २४ घन्टाभन्दा बढी जहाज विमानस्थलमै पार्किङ गर्नुपर्दा अन्तर्राष्ट्रिय तर्फको ८० प्रतिशत उडान प्रभावित हुने स्रोतको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।