काठमाडौं- नेपाल राष्ट्र बैंकको एक अध्ययनले सहकारी क्षेत्रको वित्तीय साधन परिचालन सान तथा मझौला उद्यममैत्री बनाउनुपर्ने सुझाव दिएको छ। राष्ट्र बैंकले गरेको 'नेपालमा साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालन'सम्बन्धित अध्ययनले सहकारी संस्थाबाट हुने कर्जा प्रवाहलाई थप पारदर्शी बनाउने व्यवस्था गर्नुपर्ने पनि औँल्याएको छ।
राष्ट्र बैंकको अध्ययनअनुसार भेञ्चर क्यापिटल/प्राइभेट इक्विटी कम्पनीहरुलाई प्रोत्साहन गर्नुका साथै त्यस्ता संस्थाबाट साना तथा मझौला उद्योगतर्फ साधन परिचालन हुने वातावरण बनाउनुपर्ने औँल्याइएको छ।
यसैगरी नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष तथा सामाजिक सुरक्षा कोषजस्ता संस्थाहरुको साधनसमेत साना तथा मझौला उद्यममका लागि उपयोग गर्नेतर्फ आवश्यक नीतिगत व्यवस्था गर्न सुझाव दिइएको छ।
राष्ट्र बैंकले साना तथा मझौला व्यवसयाका लागि अल्पकालीन् प्रकृतिको कर्जा मात्रै उपलब्ध हुँदै आएको भन्दै त्यस्ता व्यवसायमा पनि अब दीर्घकालीन् कर्जा प्रवाहको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ।
राष्ट्र बैंकको अध्ययनमा पन्ध्रौँ योजनाको आधारपत्रले लिएको दीर्घकालीन लक्ष्य हासिल गर्न वाणिज्य बैंकलगायत अन्य वित्तीय संस्थाहरुको वित्तीय स्रोत ठूला उद्योग तथा आयोजनाहरुमा केन्द्रित हुँदै जाने देखिएकाले वित्तीय पहुँच अभिवृद्धि तथा गरिबी न्यूनीकरण गर्ने लक्ष्यसहित स्थापना भएका लघुवित्त वित्तीय संस्थाहरुको भूमिका मुलुकको आर्थिक रुपान्तरणसँगै परिवर्तन हुने सम्भावना रहेको सन्दर्भमा यी संस्थाहरुलाई लघु तथा घरेलु उद्योगका साथसाथै साना तथा मझौला उद्योगहरुमा वित्तीय साधन परिचालन गर्ने संयन्त्रको रुपमा विकास गर्दै जानुपर्ने सुझाव पनि दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।