जनकपुर- प्रदेश २ को राजधानी जनकपुरधाममा ‘जनकपुर महोत्सव २०१९’ हुने भएको छ। आउँदो कात्तिकमा अन्तर्राष्ट्रिय स्तरको वृहत व्यापारिक मेला आयोजना हुने आयोजकले जनाएको छ।
सिया इभेन्ट एन्ड एसोसिएट प्रालिको आयोजनामा कात्तिक १ गतेदेखि ५ गतेसम्म आयोजना हुने ५ दिने महोत्सवमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका व्यवसायीहरुको सहभागिता रहने जनाइएको छ।
जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना हुने महोत्सवको व्यपारिक मेलामा ७५ भन्दा बढी ती देशको स्टल राखिने छ।
महोत्सवमा एक लाखभन्दा बढी उपभोक्ताहरुलाई अवलोकन गराउने उद्देश्य आयोजक पक्षको रहेको छ।
अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानहरूलाई एउटै छानामुनि सहभागिता गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम तथा सम्भाव्यता सिर्जना हुने आशा आयोजकले राखेका छन्।
शुक्रबार नेपाल पत्रकार महासंघ धनुषा शाखामा पत्रकार सम्मेलनको आयोजना गर्दै जनकपुर महोत्सवलाई भव्यताका साथ सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २, उद्योग मन्त्रालय प्रदेश २ ले समेत सहयोग गर्न लागेको जनाएको हो। आयोजकका अनुसार कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहने जनाएको छ।
महोत्सवमा गार्मेन्टस, छाला (लेदर) को उत्पादित सामग्री, किचेन, वेयर, होम एप्लायन्स, अटो मोबाइल्स, हेल्थ फिटनेस, कन्सट्रक्सन र बैंक तथा वित्तीय संस्थाहरुको स्टल राखिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।